नेपाल हेल्थ न्युज, धनगढी । सुदूरपश्चिम प्रदेशका निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले आफ्नो न्यूनतम पेसागत अधिकार सुनिश्चित गर्न माग गर्दै सामाजिक विकास मन्त्रालय घेराउ गरेका छन्। शुक्रबार धनगढीस्थित मन्त्रालयमा प्रदर्शन गर्दै उनीहरूले सरकारसँग आफ्ना मागहरू तुरुन्त सम्बोधन गर्न आग्रह गरेका छन्।
स्वास्थ्यकर्मीहरूले सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मी र कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई ज्ञापनपत्र बुझाएका थिए।
नेपाल नर्सिङ संघको अगुवाइमा बुझाइएको ज्ञापनपत्रमा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २३ र २४ असोजमा जारी गरेका निर्देशनको आधारमा, निजी क्षेत्रका स्वास्थ्यकर्मीहरूलाई समेत न्यूनतम पारिश्रमिक, सेवा सुविधा, पेशागत सम्मान र सुरक्षा सुनिश्चित गरिनुपर्ने उल्लेख गरिएको छ।
ज्ञापनपत्र बुझाउने क्रममा आन्दोलनरत स्वास्थ्यकर्मीहरूका तर्फबाट स्टाफ नर्स आस्मा नेगीले स्वास्थ्य सेवा अवरुद्ध गर्ने उद्देश्य नरहेको स्पष्ट पारिन्। उनले स्वास्थ्यकर्मीहरूले गरिरहेको सेवा पेसाको सम्मानका लागि भएको बताउँदै, सबै स्वास्थ्यकर्मीका न्यूनतम अधिकार सुनिश्चित गरिनु आवश्यक भएको बताइन्।
स्वास्थ्यकर्मीहरूले निजी क्षेत्रमा कार्यरत कर्मचारीहरूलाई पनि सरकारी सेवा जस्तै पारिश्रमिक र सुविधा प्रदान गरिनुपर्ने, तोकिएको समयभन्दा बढी काम गरेबापत अतिरिक्त भत्ता उपलब्ध गरिनुपर्ने, र नियुक्ति प्रक्रियामा स्पष्ट र लिखित करार गरिनुपर्ने माग गरेका छन्।
आफ्ना मागहरू कुनै व्यक्तिगत फाइदाको लागि नभई स्वास्थ्य सेवा प्रणालीको गुणस्तर सुधार र पेसागत मर्यादा कायम राख्नका लागि अघि सारेको उनीहरूको भनाइ छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीको वीर अस्पतालमा सरुवा
शुक्रबार, वैशाख ११, २०८३
१७ जना डाक्टरको नाम दर्ता खारेज (सूचीसहित)
शुक्रबार, वैशाख ११, २०८३
गण्डकीमा ५ करोडको आपतकालीन स्वास्थ्य कोष स्थापना
शुक्रबार, वैशाख ११, २०८३


