नेपाल हेल्थ न्युज, काठमाडौं । अहिलेको समय मौसम परिवर्तनको हो। बिहान चिसो, दिउँसो घाम, बेलुका फेरि चिसो — यस्तो अनियमित मौसमका कारण धेरैलाई रुघा लाग्न थालेको छ। यो मौसममा भाइरल संक्रमण र एलर्जी दुबै बढ्ने भएकाले सजग रहनु आवश्यक छ। रुघा सामान्यतया दुई प्रकारका हुन्छन् — एलर्जीका कारण हुने र भाइरल संक्रमणबाट हुने। विशेष गरी चिसो मौसममा धुलो, धुवाँ, चिसो पदार्थ, फूलविरुवा वा जनावरको एलर्जीले रुघा लाग्ने सम्भावना बढ्छ। तर, रुघा लागिसकेपछि उपचार खोज्नेभन्दा पनि पहिल्यै सजग भएर त्यसबाट जोगिन सकिन्छ।
- चिसो र तातो एकसाथ प्रयोग नगर्नुहोस्
एकदमै चिसोबाट तातो वा तातोबाट चिसोमा अचानक जानु र चिसो–तातो खानेकुरा एकैचोटि खानुले शरीरमा प्रतिकूल असर पर्छ। जस्तो कि चिसो पानी पिएर तुरुन्तै तातो चिया पिउनु, यसले रुघाको जोखिम बढाउँछ। त्यसैले यस्ता बानीहरू सुधार्नु जरुरी हुन्छ।
- संक्रमित व्यक्तिको सम्पर्कबाट बचौं
रुघा सर्ने खालको रोग हो। त्यसैले रुघा लागेको व्यक्तिको नजिक नगइकन सुरक्षित दूरीमा रहनु उपयुक्त हुन्छ, विशेषगरी मौसम चिसिएको बेला।
- अमिलो खानेकुरा सीमित गर्नुहोस्
यद्यपि अमिलो खानेकुराबाट भिटामिन सी पाइन्छ, तर अत्यधिक मात्रामा कागती, निबुवा जस्ता चिज सेवन गर्दा शरिरमा चिसोपन बढ्न सक्छ र रुघा निम्तिन सक्छ। त्यसैले चिसो मौसममा यस्ता खानेकुरा सीमित मात्रामा खानु उपयुक्त हुन्छ।
- नाकमा प्राकृतिक तेल प्रयोग गर्ने
शुष्क र प्रदूषित मौसममा एलर्जीका कारण रुघा लाग्न सक्छ। यस्तोमा नाकमा एक–दुई थोपा ‘षड्बिन्दु’ वा ‘अणु’ तेल हाल्दा एलर्जीबाट जोगिन सकिन्छ। यसले नाकभित्रको सतहलाई नमी दिने काम गर्छ।
- नियमित प्राणायाम गर्नुहोस्
रुघाबाट बच्नको लागि नियमित रूपमा प्राणायाम गर्नुपर्छ। प्राणायामले श्वासप्रश्वासको प्रक्रिया सुधारी रोगप्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ।
रुघा निको पार्ने घरेलु उपायहरू
- बेसार मिसिएको तातोपानी
बेसारमा रहेको कर्क्युमिन तत्वले एलर्जी र भाइरल दुवैको असर कम गर्छ। एक गिलास तातो पानी वा दूधमा एक चम्चा बेसार मिसाएर बिहान बेलुका पिउनाले रुघाबाट राहत मिल्छ।
- मरिच पानी
कालो मरिचमा पाइने पोषक तत्वहरूले रुघा निको पार्न मद्दत गर्छ। मरिचको धुलो तातोपानीमा उमालेर चियाजस्तै सेवन गर्न सकिन्छ।
- मह र तातोपानी
महमा रोगसँग लड्ने गुण हुन्छ। तातोपानीमा मह मिसाएर पिउँदा रुघा र खोकीमा राहत मिल्छ।
- आवश्यक भएमा बाफ लिनुहोस्
यदि रुघाका कारण नाक टालिएको छ भने बाफ लिनु लाभदायक हुन्छ। तर, सामान्य झोल बगेको अवस्थामा बाफ नलिँदा पनि हुन्छ। बाफ लिँदा नाक खोलिन्छ र सजिलो महसुस हुन्छ।
चम्किलो प्याकेटभित्र लुकेको मृत्युको पासो:रोग र पीडाको व्यापार
आइतबार, जेठ १७, २०८३
९७७ दरबन्दी थपिँदा पनि हेल्थ असिस्टेन्ट शून्य
सोमबार, वैशाख २८, २०८३
सेवामा समर्पित तर सम्मानबाट वञ्चितः स्वास्थ्यकर्मीको वास्तविकता
शुक्रबार, वैशाख १८, २०८३
नर्सबाट नेतृत्वसम्मः अब व्यवहारिक सुधारको ऐतिहासिक अवसर
बिहीबार, चैत १९, २०८२

