नेभिगेशन

जुम्लामा स्वास्थ्य बीमाप्रति नागरिकको बढ्दो आकर्षण

नेपाल हेल्थ न्युज, काठमाडौं । जुम्ला जिल्लामा स्वास्थ्य बीमामा सहभागी हुने नागरिकको संख्या तीव्र गतिमा बढ्दै गएको छ। हालसम्म जिल्लामा झण्डै एक लाख भन्दा बढी व्यक्तिहरू स्वास्थ्य बीमामा आबद्ध भएको जानकारी जिल्ला स्वास्थ्य बीमा बोर्डका प्रमुख प्रेम भण्डारीले दिएका छन्।

उनका अनुसार, जुम्लाका १३ हजारभन्दा बढी घरपरिवार बीमाको दायरामा आएका छन्। विसं २०७४ सालदेखि जिल्लामा यो सेवा सुरु गरिएको हो।

हालसम्म ज्येष्ठ नागरिक  तीन हजार ७२६ जना, अति अशक्त अपाङ्गता भएका ८७ जना र महिला स्वास्थ्य स्वयंसेविका २८८ जनाको परिवार बीमामा समावेश भएका छन्।

प्रमुख भण्डारीका अनुसार सुरुमा नागरिकमा स्वास्थ्य बीमाबारे पर्याप्त जानकारी नहुँदा सहभागीता न्यून थियो। तर पछिल्ला वर्षहरूमा बीमा सहजकर्ताहरूले घरघरमा पुगेर सचेतना फैलाएपछि स्थानीयको चासो बढेको हो।

सरकारले अपाङ्ग, अशक्त, कुष्ठरोगी, एचआईभी संक्रमित, ज्येष्ठ नागरिक र अतिगरिब परिवारलाई निःशुल्क बीमामा सहभागी गराउने व्यवस्था गरेको छ। अन्यले भने निश्चित शुल्क तिरेर रु एक लाख बराबरको स्वास्थ्य सुरक्षा बीमा गर्न सक्ने व्यवस्था छ।

यस्तै, बीमाको प्रभावकारी कार्यान्वयनका लागि हाल स्वास्थ्य बीमा बोर्डले सह–भुक्तानी प्रणाली पनि लागू गरेको छ। साथै, प्रत्येक वडामा रहेका दर्ता सहयोगीहरूलाई घरदैलोमा पठाएर नागरिकलाई बीमामा सहभागी गराउने अभियान सञ्चालन भइरहेको कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट