नेभिगेशन

बीपी कोइराला प्रतिष्ठानका चिकित्सकसहित पाँच कर्मचारी बर्खास्त, तीनमाथि विभागीय कारबाही

पूर्व–रजिस्ट्रार डा. मोहन्चन्द्र रेग्मी र उनकी पत्नी सहित पाँच जनाको सेवा समाप्त, अन्यमाथि पनि छानबिन जारी

नेपाल हेल्थ न्युज, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आन्तरिक नियमविपरीत गतिविधि गरेको आरोपमा पाँच जना कर्मचारीलाई बर्खास्त गर्दै तीन जनामाथि विभागीय कारबाही अगाडि बढाएको छ।

प्रतिष्ठानका रजिस्ट्रार प्रा.डा. सूर्यप्रसाद संग्रौलाका अनुसार बर्खास्त हुनेहरूमा स्त्रीरोग विशेषज्ञ तथा पूर्व–रजिस्ट्रार प्रा.डा. मोहन्चन्द्र रेग्मी प्रमुख छन्। उनी प्रतिष्ठानमा कार्यरत रहँदै सिभिल अस्पताल काठमाडौंमा निर्देशक बनेका थिए। काज अवधि समाप्त भएपछि पनि उनले प्रतिष्ठानमा फर्केर हाजिरी नगरेको पाइएपछि कार्यकारिणी समितिको निर्णयअनुसार बर्खास्त गरिएको संग्रौलाले जानकारी दिए।

डा. रेग्मीकी पत्नी तथा स्कुल अफ पब्लिक हेल्थ एन्ड कम्युनिटी मेडिसिनकी असिस्टेन्ट प्रोफेसर डा. लक्ष्मी सुवेदीलाई समेत नियम उल्लंघनको कारण बर्खास्त गरिएको छ। अध्ययन बिदा स्वीकृत नगरी विदेश गएका कारण उनीमाथि सो कारबाही गरिएको हो।

त्यस्तै, कर्मचारी दिरण भट्टराई र सुरेन बास्फोरलाई पनि काममा लापरबाही, प्रशासनिक उल्लंघन र अनुशासनहीन व्यवहारका कारण सेवाबाट हटाइएको प्रतिष्ठानले जनाएको छ।

यसैबीच, हाडजोर्नी विभाग प्रमुख डा. रोशन कलवार र शाखा अधिकृत कान्तलाल चौधरीमाथि एक ग्रेड घटाई विभागीय कारबाही गरिएको छ। उनीहरूलाई पदको दुरुपयोग र आन्तरिक नियमविपरीत काम गरेको प्रमाणित भएको बताइएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङका रजिस्ट्रार श्याम लम्सालले प्रोफेसर पदमा बढुवा हुँदा सेवा अवधि नपुगेको पाइएपछि उनीमाथि पनि कारबाही गरिएको प्रतिष्ठानले जनाएको छ। छानबिनमा अनियमितता पुष्टि भएपछि उनले राजीनामा दिएका थिए। कार्यकारिणी समितिले उनलाई दुई तह घटाई केही सेवा सुविधा सहित राजीनामा स्वीकृत गरेको हो।

रजिस्ट्रार संग्रौलाका अनुसार हाल पनि अन्य दर्जनभन्दा बढी चिकित्सक तथा कर्मचारीमाथि आन्तरिक छानबिन भइरहेको छ। उनले भने, “संस्थाको मर्यादा र अनुशासन कायम राख्न कडा कदम चालिएको छ। नियम विपरीत काम गर्न कसैलाई अनुमति दिइने छैन।”

प्रतिष्ठानले पछिल्ला वर्षहरूमा बढ्दै गएको प्रशासनिक अव्यवस्था, नियम उल्लंघन र बाह्य दबाबका कारण प्रभावित भएको भन्दै सुधार अभियान तीव्र पारेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट