नेभिगेशन

कर्णाली प्रदेश अस्पतालमा पनि नर्सहरूको आन्दोलन सुरु

नेपाल हेल्थ न्युज, वीरेन्द्रनगर । कर्णाली प्रदेश अस्पताल सुर्खेतका नर्सहरूले बुधबार हातमा कालो पट्टी बाँधेर दुई घण्टा सेवा अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका छन्। देशभर नै नर्सहरूको श्रम शोषण विरुद्ध आन्दोलन भइरहेका बेला सुर्खेतका नर्सहरूले पनि नेपाल नर्सिङ संघ सुर्खेत शाखाको नेतृत्वमा आन्दोलित भएका हुन्।

अस्पताल परिसरमै आयोजित धर्नामा नर्सहरूले आफूहरूलाई श्रमअनुसारको पारिश्रमिक नदिइएको र जोखिमपूर्ण कामको उचित मूल्याङ्कन नभएको भन्दै असन्तुष्टि जनाए।

नर्सिङ विभाग प्रमुख तथा संघकी अध्यक्ष शकुन्तला सापकोटाले नर्सहरू अस्पताल जस्तो संवेदनशील क्षेत्रमा निरन्तर खटिँदा पनि उचित तलब र सम्मान नपाएको बताइन्। उनले सरकारसँग नर्सहरूको दरबन्दी, पारिश्रमिक र सुविधा पुनरावलोकन गर्न आग्रह गरिन्।

संघकी उपाध्यक्ष प्रतिमा पन्तका अनुसार कर्णालीमा कार्यरत नर्सहरूलाई अन्य प्रदेशका तुलनामा न्यून सुविधा दिइँदै आएको छ। “फिल्डमा खटिने नर्सले अहिले पनि महिनामा चार हजार मात्र पाउँछिन्, यो ठूला अस्पतालका तुलनामा ठूलो अन्याय हो,” उनले भनिन्।

नर्सहरूले कर्णाली प्रदेश सरकारले नर्सहरूमाथि विभेद गरेको, तलब बाहेकका अन्य सुविधा र प्रोत्साहन भत्तामा असमानता गरेको आरोप समेत लगाएका छन्। उनीहरूको भनाइमा, प्रदेश सरकारले डाक्टरहरूलाई ८० देखि १०० प्रतिशतसम्म प्रोत्साहन भत्ता दिए पनि नर्सहरूलाई न्यून दरमा सीमित गरेको छ।

अस्पतालका निर्देशक गणेश थापाले दुई घण्टाको आन्दोलनका कारण सेवा प्रभावित भएको जनाउँदै अस्पताल जस्तो संवेदनशील क्षेत्रमा काम छाडेर आन्दोलन गर्नु उपयुक्त नहुने टिप्पणी गरे।

ग्रान्डी इन्टरनेशनल अस्पतालका नर्स तथा स्वास्थ्यकर्मीहरूको आन्दोलन हेर्नुहोस् :


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट