नेपाल हेल्थ न्युज, काठमाडौं । औषधि विभागले केही सञ्चार माध्यम, अनलाइन पत्रिका र सामाजिक सञ्जालमा प्रकाशन भएका औषधि मूल्य वृद्धिसम्बन्धी समाचारप्रति गम्भीर आपत्ति जनाएको छ। विभागका अनुसार, यस्ता समाचारमा तथ्य नबुझी व्यक्तिगत स्वार्थ र भ्रामक उद्देश्यले प्रचार गरिएको देखिएको छ।
विभागले भनेको छ कि, “सत्य तथ्य नबुझिकन एकतर्फी रूपमा प्रसारित समाचारप्रति विभाग घोर असहमति जनाएको छ। मिति २०७८।०६।११ मा यस विषयमा विभागले विज्ञप्ति पनि जारी गरेको थियो। तथापि, केही सञ्चार माध्यमले गलत मनसायले भ्रम फैलाउने समाचार प्रसारण गरिरहेकोमा विभागको गम्भीर आपत्ति छ।”
औषधि ऐन, २०३५ को दफा २६ अनुसार, विभागले आवश्यक देखेमा नेपाल सरकारको स्वीकृति लिई औषधिको मूल्य निर्धारण गर्न सक्ने व्यवस्था छ।
यस दफा अनुसार हालसम्म ११७ प्रकारका औषधिको अधिकतम खुद्रा मूल्य निर्धारण गरिएको छ। बाँकी औषधिहरूको मूल्य उत्पादकले आफैं निर्धारण गर्दै आएको विभागले जनाएको छ।
विभागले औषधिको मूल्य निर्धारण गर्दा (औसत मूल्य), (मध्यम मूल्य), (सन्दर्भ मूल्य), र (तुलनात्मक मूल्य) लाई आधार मान्ने व्यवस्था अनुसार मूल्य निर्धारण गरिएको बताएको छ। विभागले औषधिहरूको दर्ता र नवीकरण गर्दा पनि यो प्रक्रिया अपनाइरहेको छ।
विभागले थप भन्यो, “नेपाल सरकारले मूल्य निर्धारण नगरेका औषधिहरूको मूल्य पारदर्शी, वैज्ञानिक र तथ्यमा आधारित राख्न मूल्य अनुगमन समितिको सिफारिस अनुसार सन्दर्भ मूल्य, तुलनात्मक मूल्य र साबिकको अधिकतम खुद्रा मूल्यलाई हेरेर मूल्य स्वच्छता कायम गरिन्छ। यसबारे विभागको अनलाइन प्रणालीबाट पनि जानकारी लिन सकिन्छ।”
अन्तमा विभागले सञ्चार माध्यम, बुद्धिजीवी वर्ग र आम नागरिकलाई आग्रह गरेको छ कि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर तथ्यपरक ढङ्गबाट समाचार संकलन र प्रसारण गर्नुपर्छ र भ्रमपूर्ण समाचार फैलाउनबाट बच्नुपर्छ।

बाँकेमा हात्तीपाइले विरुद्धको १० दिने औषधि सेवन अभियान सुरु
शुक्रबार, माघ ९, २०८२
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल
शुक्रबार, माघ ९, २०८२
सानोठिमी बाल सुधार गृहमा झडप, १३ घाइते
शुक्रबार, माघ ९, २०८२

