नेपाल हेल्थ न्युज, काठमाडौं । देशका ७५ जिल्लामा सात हजारभन्दा बढी व्यक्तिमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार हालसम्म देशभर ७ हजार ७५ जनामा डेङ्गु पोजिटिभ देखिएको छ। सोही अवधिमा डेङ्गुका कारण छ जनाको ज्यान गएको इडिसिडीका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिनुभएको छ।
डा. दाहालका अनुसार डोल्पा र मनाङ गरी दुई जिल्लामा अहिलेसम्म डेङ्गु सङ्क्रमण पुष्टि भएको छैन। प्रदेशगत विवरणअनुसार बागमती प्रदेशमा १ हजार ७६३, गण्डकीमा १ हजार ७७५, लुम्बिनीमा १ हजार १६९, कोशीमा ९९३, सुदूरपश्चिममा ७८८, कर्णालीमा ५०० र मधेश प्रदेशमा १४७ जनामा डेङ्गु भेटिएको छ।
चिकित्सकहरूका अनुसार डेङ्गु एडिज प्रजातिका पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा पानी जम्मा भएको भाँडो वा स्थानमा प्रजनन गर्छ। सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार असह्य शरीर दुख्ने, खाना खान मन नलाग्ने र पखाला लाग्ने डेङ्गुका सामान्य लक्षण हुन्। त्यसका साथै उच्च ज्वरो आउने, टाउको, जोर्नी र मांसपेशी दुख्ने, आँखाको गेडी दुख्ने, शरीरमा राता बिबिरा आउनु, वाकवाकी लाग्नु वा वान्ता हुने जस्ता लक्षण पनि देखापर्न सक्छन्।
डा. पुनले डेङ्गुको शंका भएमा चिकित्सकको सल्लाह बिना औषधि सेवन नगर्न आग्रह गर्नुभएको छ। साथै, ज्वरो, खोकी वा सास फेर्न गाह्रो हुने अवस्था आएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझाव दिनुभएको छ। उहाँका अनुसार डेङ्गु सङ्क्रमणको जोखिम आगामी कात्तिक महिनासम्म रहन सक्ने भएकाले सबैलाई सचेत रहन आवश्यक छ।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
