नेभिगेशन

नर्स ज्योति रानाभाट : निडर, निष्ठावान र न्यायकी प्रतीक

अन्याय र मौनताको कालो बादलमा चम्किएकी ज्योति — नर्सिङ पेशाको सम्मान र अधिकारका लागि अग्रपंक्तिमा

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालको नर्सिङ पेशामा जब अन्याय, शोषण र मौनताको कालो बादल मडारिएको थियो, त्यही समयमा एउटा नाम उज्यालो बनेर उदायो — नर्स ज्योति रनाभाट। आज उनी नर्सिङ संघर्ष समिति की केन्द्रीय संयोजक मात्र होइनन्, नर्सिङ पेशाप्रतिको प्रेम, प्रतिबद्धता र निडरताको जीवित प्रतीक हुन्।

'न्याय कहिल्यै मागेर पाइँदैन, त्यसका लागि उठ्नुपर्छ।'

२०७२ सालतिर पहिलोपटक भेटिएकी ज्योति रानाभाटले इन्स्टिच्युट अफ हेल्थ साइन्सेसबाट पिसिएल नर्सिङ अध्ययन गरिन्। त्यसपछि शिक्षा मन्त्रालयको छात्रावृत्तिमा स्नातक र चिकित्सा शिक्षा आयोगको छात्रावृत्तिमा एमएन (मास्टर्स इर्न नर्सिङ) अध्ययन गरेकी छन् । । उनले आफ्नो ज्ञान र सेवाको बाटो बलियो बनाइन्। सत्य र न्यायका लागि सम्झौता नगर्ने ज्योति रनाभाट नर्सिङ पेशाको गौरव हुन्। त्रजिना जाति जस्तै सहृदय, सजना द्योला जस्तै पेशाप्रति समर्पित — ज्योति रनाभाट साँच्चिकै “नर्सको आत्मा” हुन्।

'जब तिमी सत्यको बाटो रोज्छौ, तिमी एक्लो देखिन सक्छौ — तर गलतको भीड कहिल्यै जित्दैन।'

 संघर्षको यात्रा
२०७२ सालतिर नर्सहरूको श्रमशोषणबारे सुन्दा उनी मौन बसिनन्। उनी सुसासन अभियानसँग जोडिइन् र दृढता, नेतृत्व र इच्छाशक्तिका कारण आन्दोलनकै अगुवाइमा आइपुगिन्। २०६९ सालदेखि नै 'स्वयंसेवी नर्स प्रणाली' र 'न्यून पारिश्रमिक' विरुद्ध देशव्यापी अभियान चल्दै आएको थियो। निजी अस्पतालहरूमा भइरहेको अन्याय र दमनको विरोधमा उनले र उनका सहकर्मीहरूले पेशागत विद्रोहको नेतृत्व गरे।

'शान्त रहनु राम्रो हो, तर अन्यायको अगाडि मौन रहनु पाप हो।'

तर मागहरू सुन्न निजी अस्पताल सञ्चालकहरूले इन्कार गरे।
राज्यसँग पटक–पटक भिड्दा पनि आवाज दबाइयो।
तीन पटकसम्म सत्याग्रह भए, तर न राज्यले सुने, न पेशागत संघहरूले।
शोषण अझै पनि जारी छ।

'जब तिम्रो पीडा सामूहिक बन्छ, त्यो आन्दोलन बन्न पुग्छ।'

 श्रम र अधिकारको लडाइँ
हामी सोध्छौँ — के नर्स र स्वास्थ्यकर्मीहरू मानव होइनन् ? के उनीहरूको श्रमको मूल्य र सम्मान छैन ? हामीले बारम्बार माग गरेका छौँ — 'कम्तिमा स्वास्थ्य ऐन र श्रम ऐन अनुसार सेवा–सुविधा देऊ।'तर आवाज दबाइयो। श्रम ऐनले तोकेको १९,५०० रुपैयाँ तलब नै अपमानको प्रतीक बन्यो। तत्कालीन स्वास्थ्य मन्त्री माननीय प्रदीप पौडेल हुँदा यो मुद्दा मन्त्रालयसम्म पुगेको थियो, तर आजसम्म पनि निजी अस्पताल सञ्चालकहरूले निर्णयलाई बेवास्ता गरिरहेका छन्। 'शोषण केवल तलबमा हुँदैन, मौनता र असमानतामा पनि हुन्छ।'

आजको आन्दोलन — चेतनाको ज्वाला
आज नर्स र स्वास्थ्यकर्मीहरूको सहनशीलता सिमानामा पुगेको छ। अब मौन बस्ने बेला होइन — यो न्याय, समानता र गरिमाको लडाइँ हो। यो आन्दोलन अब केवल तलबको होइन, सम्मानको आन्दोलन हो। 'न्यायको ज्वालामा जुनसुकै शक्तिशाली पर्खाल पनि पग्लन्छ।' यसैले यो आन्दोलन फैलिँदैछ, सल्किँदैछ र अन्ततः न्यायको सूर्योदय हुनेछ।

अन्तिम अपिल
सबै नर्स र स्वास्थ्यकर्मीहरूलाई एउटै सन्देश — नर्स ज्योति रनाभाटजस्तै हिम्मत, साहस र आत्मविश्वास देखाऔँ। कुनै पनि दबाब, धम्की वा डरमा नपरी एकताको सूत्रमा बाँधिऔँ। 'एक्लो आवाज दबाउन सकिन्छ, हजारौँ आवाजहरू गुञ्जिन्छन्।' हाम्रो दिशा एउटै छ — न्याय, सम्मान र सुरक्षित नर्सिङ वातावरण। हाल हामी चौथो सत्याग्रहको तयारीमा छौँ। सबै नर्स तथा स्वास्थ्यकर्मीहरूलाई आह्वान छ — आउनुहोस्, एक भएर अन्याय, अत्याचार र शोषणको अन्त्य गरौँ। 'यो केवल आन्दोलन होइन — चेतनाको पुनर्जागरण हो।'

नर्स ज्योति रनाभाटलाई मुक्तकण्ठले सलाम, र देशभरका सबै नर्स र स्वास्थ्यकर्मीहरूलाई सन्देश —

'अब मौन होइन, बोल्ने बेला आएको छ।'
'अब सहने होइन, बदल्ने बेला आएको छ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट