नेभिगेशन

मधेश प्रदेशका जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासक प्रमुख बनाउने तयारी

add final

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासकलाई नै प्रमुख बनाउने तयारी गरेको छ।

हाल विभिन्न जिल्लामा जनस्वास्थ्य प्रशासकको दरबन्दी रहे पनि केही स्थानमा तथ्यांक अधिकृत वा अहेबले प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन्। यो व्यवस्थालाई व्यवस्थित बनाउन मन्त्रालयले नयाँ समायोजन प्रक्रिया अघि बढाएको हो।

स्वास्थ्य सचिव डा. ओम अर्यालका अनुसार मन्त्रालयका विभिन्न निकायमा कार्यरत जनस्वास्थ्य अधिकृतलाई जिल्लामा पठाउने तयारी भइरहेको छ। 'केही जिल्लामा पहिले नै प्रशासक छन्, केहीमा पठाउने तयारी छ, र केहीका लागि मुख्यमन्त्रीसँग छलफल भइरहेको छ,' सचिव अर्यालले बताए। उनका अनुसार मुख्यमन्त्रीको तर्फबाट पनि सकारात्मक संकेत प्राप्त भएको छ।

वर्तमान अवस्थाअनुसार सर्लाहीमा १०औं तहका डा. नवलकिशोर झा प्रमुख छन् भने सप्तरीमा डा. सतिश यादव, धनुषामा उमेश यादव र सिरहामा कृष्णदेव यादव जनस्वास्थ्य प्रशासकका रूपमा कार्यरत छन्।

तर बारा र महोत्तरीमा तथ्यांक अधिकृत, पर्सामा डीटीएलए र रौतहटमा अहेब प्रमुख रहेका छन्। मन्त्रालय स्रोतका अनुसार अब जनस्वास्थ्य प्रशासक निलारम्भ अधिकारीलाई पर्सा, चेतराज पण्डितलाई बारा, डा. चाँदनी जैसवाललाई रौतहट र श्रवण नायकलाई महोत्तरीमा प्रमुखका रूपमा पठाउने तयारी अन्तिम चरणमा पुगेको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट