नेभिगेशन

नर्सको सेवा सुविधा तोक्न कार्यदललाई थप एक महिना समय

नेपाल हेल्थ न्युज, काठमाडौं । नर्सहरूको सेवा सुविधा तोक्नका लागि गठन गरिएको कार्यदललाई सरकार र आन्दोलनरत समूह बीचको सहमतिअनुसार थप एक महिना समय विस्तार गरिएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए अनुसार, कार्यदललाई आगामी मङ्सिर १५ गतेसम्मको समयावधि थप गरिएको हो।

सहमतिअनुसार कार्यदलले नर्सहरूको सेवा सुविधा र अन्य महत्वपूर्ण विषयहरूको विस्तृत अध्ययन गरिरहेको छ। यसका लागि उनीहरूले एक ठोस कार्ययोजना तयार गर्ने तयारी गरेका छन्, जसलाई लागू गर्न केही समय लाग्ने प्रवक्ता डा. बुढाथोकीले बताउनुभयो।

'अहिले कार्यदलले सहमतिअनुसार आफ्नो काम अगाडि बढाएको छ र प्रतिवेदन तयार भएपछि नर्सहरूको सेवा सुविधा लागू गरिने छ,' उँहाले भन्नुभयो।

नर्सको सेवा सुविधाबारे सरकारले मन्त्रालयका अतिरिक्त सचिव डा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले अस्पतालको वर्गीकरण गरेर नर्सको सेवा सुविधा तोकि प्रतिवेदन बुझाउने जनाएको छ ।

डा. श्रेष्ठका अनुसार, कार्यदलले तत्काल गर्न सकिने कामहरूलाई चाँडै समेट्ने योजना बनाएको छ। मन्त्रीज्यूले कानूनी अवरोध भएका पक्षमा पनि विधेयक ल्याएर नर्सहरूको सेवा सुविधा टुंग्याउन आग्रह गर्नुभएको छ, उहाँले थप्नुभयो।

सहमतिअनुसार, ठूला अस्पताल र निजी मेडिकल कलेजहरूले कात्तिकदेखि पाँचौं तह सरहको तलब दिने छन्, जबकि अन्य निजी र सामुदायिक अस्पतालहरूले पाँचौं तहको ८० प्रतिशत सेवा सुविधा उपलब्ध गराउने सहमति भएको छ। यस विषयमा थप जानकारी कार्यदलको प्रतिवेदनपछि प्राप्त हुनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट