नेभिगेशन

जुकाको औषधि घाँटीमा अड्किँदा १८ महिने बालिकाको मृत्यु

नेपाल हेल्थ न्युज, दाङ । दाङ देउखुरीको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर एक  बालिकाको ज्यान गएको घटना सार्वजनिक भएको छ।

स्थानीय शिवकुमार यादवकी १८ महिनाकी छोरी जमुना यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिनुभएको छ।

राष्ट्रियस्तरमा सञ्चालन भइरहेको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण अभियान अन्तर्गत बालिकालाई औषधि खुवाउने क्रममा औषधि घाँटीमा अड्किएको र सोही कारण सास रोकिन गई घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाएको छ।

घटना गढवा गाउँपालिका–४ रामनगरमा भएको हो। प्रहरीका अनुसार महिला स्वास्थ्य स्वयंसेविकाद्वारा औषधि खुवाउने क्रममा दुर्घटना भएको बताइएको छ।

मृतक बालिकाको शवको पोस्टमार्टम राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा गरिएको र पछि परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट