नेपाल हेल्थ न्युज, चितवन । चितवनस्थित भरतपुर अस्पतालमा सुत्केरी गराउन आएकी एक महिलाको मृत्यु भएपछि अस्पताल परिसरमा मृतकका आफन्तहरूले नाराबाजी गरेका छन्।
पर्सा स्थायी घर भई हाल कालिका नगरपालिका–२, चितवनमा बस्दै आएकी ३० वर्षीया संगीता विकको शनिबार उपचारका क्रममा मृत्यु भएको हो। परिवारका सदस्यहरूले चिकित्सकको लापरवाहीका कारण ज्यान गएको दाबी गर्दै छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।
आफन्तका अनुसार, संगीतालाई कात्तिक २० गते स्वास्थ्य परीक्षणका लागि भरतपुर अस्पतालमा भर्ना गरिएको थियो। भिडियो एक्स–रेमा गर्भमा रहेको शिशुको मुटुको धड्कन नदेखिएपछि चिकित्सकको सल्लाहअनुसार सामान्य प्रसूतिको प्रयास गरिएको थियो।
तर, कात्तिक २२ गते राति उनको अवस्था जटिल बन्दै गएपछि राति करिब ९ बजे आईसीयूमा सारिएको र त्यसै राति ११ः४० बजे उनको मृत्यु भएको बताइएको छ।
अस्पतालका प्रवक्ता तथा स्त्री–रोग विशेषज्ञ डा. रामप्रसाद सापकोटाका अनुसार उपचारक्रममा कुनै लापरवाही भएको छैन। उहाँका भनाइमा, संगीताको मृत्यु पल्मोनरी एम्बोलिजम (फोक्सोमा रक्तनली बन्द हुने समस्या) का कारण भएको हो।
तर, मृतकका आफन्तहरूले भने शिशुको मुटुको धड्कन हराएको थाहा पाएपछि तुरुन्तै शल्यक्रिया (सी–सेक्शन) गरेर बच्चा ननिकाल्दा संगीताको ज्यान गएको आरोप लगाएका छन्।
अस्पतालले यसबारेमा स्पष्ट पार्दै, गर्भमै शिशुको मृत्यु भइसकेपछि आमालाई अनावश्यक शल्यक्रियाको जोखिमबाट जोगाउन सामान्य डेलिभरी गर्ने प्रयास गरिएको जनाएको छ।
डा. सापकोटाका अनुसार व्यथा लाग्ने औषधि दिएपछि संगीतालाई अचानक (कार्डियाक अरेस्ट) भएको र सीपीआर दिँदै आईसीयूमा लगेर उपचार प्रयास गरे पनि बचाउन नसकिएको जानकारी दिनुभयो।
किशोरकिशोरीमा चिकित्सकको सल्लाहबिना औषधि सेवनको प्रवृत्ति बढ्दो
आइतबार, मंसिर २८, २०८२
नेपाल चिकित्सक संघको उपाध्यक्ष पदमा डा. एकानन्द सिंहको स्वतन्त्र उम्मेदवारी
आइतबार, मंसिर २८, २०८२
चितवनमा पोहोरको तुलनामा डेंगी र स्क्रब टाइफस संक्रमण घट्दो
आइतबार, मंसिर २८, २०८२
एक वर्षदेखि चिकित्सकविहीन छ पाटनको भेटेरिनरी अस्पताल
आइतबार, मंसिर २८, २०८२
