नेपाल हेलथ न्युज, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालका प्रमुख डा. राजेश सम्भाजीराव पाण्डव आउँदो मंसिर ५ गतेबाट आफ्नो कार्यकाल पूरा गरी श्रीलंका तर्फ डब्लुएचओ प्रमुखको रूपमा नयाँ जिम्मेवारी सम्हाल्न जाँदै हुनुहुन्छ। उहाँले मंसिर १५ बाट कोलम्बोमा कार्यभार सम्हाल्ने बताउनुभयो।
डा. पाण्डवले सन् २०२० को सेप्टेम्बरमा नेपालमा डब्लुएचओ प्रमुखको रूपमा पदभार ग्रहण गर्नुभएको थियो, जब कोभिड–१९ महामारी चरम अवस्थामा थियो। उहाँको नेतृत्वमा नेपालमा स्वास्थ्य सुरक्षा, खोप व्यवस्थापन, अस्पतालमा आइसोलेसन र अक्सिजनको सहज उपलब्धताका लागि सरकार, स्वास्थ्य मन्त्रालय र अन्तर्राष्ट्रिय साझेदारहरूसँग घनिष्ठ समन्वय गरिएको थियो।
उहाँले स्वास्थ्य पत्रकारिता र डिजिटल स्वास्थ्य प्रविधि सम्बन्धी जानकारी देशभरका सञ्चारकर्मीहरूसँग साझा गर्नुका साथै ‘वाक द टक’ अभियान नेपालमा विस्तार गर्नुभयो। यस अभियानले स्वास्थ्य, नियमित व्यायाम र मानसिक स्वास्थ्यप्रतिको चेतना प्रवर्द्धन गर्न मदत पुर्याएको छ।
पूर्व अतिरिक्त स्वास्थ्य सचिव डा. दीपेन्द्र रमण सिंहले डा. पाण्डवलाई सहयोगी, जिम्मेवार र सरल व्यक्तित्व भएको व्याख्या गर्नुभयो भने उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाले उहाँको नेतृत्वमा महामारीको समयमा हजारौं नेपालीको जीवन सुरक्षित भएको बताएका छन्।
डा. पाण्डव सन् २००४ देखि डब्लुएचओसँग आबद्ध रहँदै आउनुभएको छ। उहाँले दक्षिण–पूर्वी एशियाली क्षेत्रीय कार्यालयमा मानसिक स्वास्थ्य तथा दुव्र्यसन सम्बन्धी काम गर्नुका साथै माल्दिभ्स र टिमोर–लेस्तेमा डब्लुएचओ प्रमुखको जिम्मेवारी सफलतापूर्वक सम्हाल्नुभएको छ। उहाँले विश्व स्वास्थ्य संगठनको महानिर्देशक विशिष्ट पुरस्कार पनि प्राप्त गर्नुभएको छ।
डा. पाण्डवले भारतको मुम्बईस्थित ग्रान्ट मेडिकल कलेजबाट एमबीबीएस र अमेरिकाको पिट्सबर्ग विश्वविद्यालयबाट जनस्वास्थ्यमा स्नातकोत्तर अध्ययन गर्नुभएको छ। डब्लुएचओमा आबद्ध हुनु अघि उहाँ अमेरिका स्थित वेस्टर्न साइक्याट्रिक इन्स्टिच्युट एण्ड क्लिनिक, पिट्सबर्ग विश्वविद्यालय मेडिकल सेन्टरमा वरिष्ठ अनुसन्धान सहायकका रूपमा कार्यरत हुनुहुन्थ्यो।
स्वास्थ्य विज्ञाहरूको विश्वास छ कि डा. पाण्डवले नेपालमा स्थापित गरेको सहयोगी, पारदर्शी र व्यावहारिक कार्यशैली श्रीलंकामा पनि निरन्तरता दिनेछन् र दक्षिण एशियामा सार्वजनिक स्वास्थ्य सुदृढीकरणमा नयाँ योगदान रहनेछ।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
