नेभिगेशन

चन्द्रागिरिमा स्वास्थ्य स्वयंसेविकाको भत्ता र खाजा खर्च तीन हजार ५००

नेपाल हेल्थ न्युज, काठमाडौं । चन्द्रागिरि नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई प्रदान हुँदै आएको खाजा खर्च तथा भत्ता वृद्धि गरी अब कुल रु.तीन हजार ५०० पुर्‍याएको घोषणा गरेको छ।

राजधानीमा ‘पब्लिक सर्भिस इन्टरनेसनल (पीएसआई) नेपाल’ले आयोजना गरेको ‘महिला सामुदायिक स्वास्थ्यकर्मीका मुद्दा’ शीर्षकको छलफलमा बोल्दै नगर प्रमुख घनश्याम गिरीले नगरपालिकाको नेतृत्वले उनीहरूको योगदान मूल्यांकन गरेर सो निर्णय लिएको जानकारी दिनुभयो।

नगर प्रमुखका अनुसार २०७४ सालमा आफू पहिलोपटक प्रमुख बनेको समयमा स्वयंसेविकाको खाजा तथा भत्ता जम्मा रु. २०० मात्र रहेको थियो। अहिले स्वयंसेविकालाई स्वास्थ्यबारे जनचेतना फैलाउनेदेखि घर–घरमा फोहोर व्यवस्थापनको अभ्यास सुरु गराउनसम्म महत्वपूर्ण जिम्मेवारी दिइँदै आएको उहाँले बताउनुभयो।

उहाँका अनुसार सामुदायिक तहमा जनस्वास्थ्य अभिवृद्धिमा महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका अत्यन्त प्रभावकारी बनेको छ।

स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक दीपेन्द्ररमण सिंहले पनि स्वयंसेविकाले घरघरमा स्वास्थ्य साक्षरता बढाउन उल्लेखनीय योगदान गरेको बताउनुभयो। वार्षिक करिब रु. ६० अर्ब बराबरको धूमपानजन्य व्यापार हुने गरेकाले त्यसमाथि स्थानीय तहले कर लगाएर स्वयंसेविकालाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिने स्रोत जुटाउन सकिने उहाँले सुझाव दिनुभयो।

यसैगरी काठमाडौँ महानगरपालिका शिक्षा तथा स्वास्थ्य समितिका संयोजकसमेत रहनुभएका वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जनले अघिल्लो दिनमा बत्ती वा ढलका कामका लागि मात्र महानगरवासीले पालिकालाई सम्झिने गरे पनि स्वास्थ्य स्वयंसेविकाको प्रभावका कारण बिरामी पर्नासाथ पालिकाको सेवा खोज्ने वातावरण बनेको बताउनुभयो। उहाँले महानगरका महिला स्वयंसेविकालाई निःशुल्क बीमा सुविधा उपलब्ध गराउन परिषद्मा पहल गर्ने प्रतिवद्धता जनाउनुभयो।

कार्यक्रममा हेवनका अध्यक्ष बसन्ती महर्जन, नेवा अध्यक्ष गीता थिङ तथा पीएसआई नेपाल शाखाका अध्यक्ष उत्तम कटुवाललगायतले महिला स्वास्थ्य स्वयंसेविकाले सामना गरिरहेका चुनौती तथा समाधानका आवश्यक पक्षबारे सम्बन्धित निकायसमक्ष माग राख्नुभएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट