नेभिगेशन

मन्त्री गौतमद्वारा ‘तत्काल स्वास्थ्य सुधार योजना’ सार्वजनिक

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले मन्त्रालय तथा मातहतका निकायबाट हुने सेवा प्रवाहलाई छिटो, सहज र प्रभावकारी बनाउन ‘तत्काल स्वास्थ्य क्षेत्र सुधार कार्य योजना’ अगाडि ल्याएको बताइएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार मन्त्री गौतमले एकदेखि दुई महिनाभित्रै देखिने गरी सेवा सुधारका लक्ष्यसहित यो कार्य योजना कार्यान्वयनमा ल्याउने तयारी गर्नुभएको हो।

प्रवक्ताका अनुसार योजनामा जेनजी घाइतेको उपचार तथा मनोसामाजिक सहयोग, नवजात तथा मातृ मृत्युदर घटाउने विशेष अभियान, स्वास्थ्य बीमा कार्यक्रम मजबुत बनाउने कार्य, सार्वजनिक खरिद सुधार, र वैदेशिक रोजगारका लागि जाने श्रमिकको स्वास्थ्य सुरक्षा जस्ता प्राथमिकता समेटिएका छन्।

योजना अनुसार मृत्युदर उच्च रहेका प्रदेश तथा स्थानीय तहमा दुई महिनाभित्र तीनै तहका सरकारको सहकार्यमा विशेष कार्यक्रम सञ्चालन गरिनेछ। संघीय अस्पतालहरूबाट जेनजी घाइतेका लागि मनोसामाजिक परामर्श सेवा पनि उपलब्ध गराइनेछ।

यस्तै, संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा नागरिकमैत्री बनाउन बहिरङ्ग सेवा ९इएम्० दुई सिफ्टमा सञ्चालन गर्ने तयारी रहेको प्रवक्ता बुढाथोकीले जानकारी दिनुभयो।

निर्माण सम्पन्न भएर हस्तान्तरण भएका पाँच, दस र पन्ध्र शय्याका आधारभूत अस्पताल सञ्चालनका लागि अनुदान उपलब्ध गराउने कार्यविधि पारित गर्ने योजना पनि समावेश छ।

स्वास्थ्य बीमा कार्यक्रम सुदृढ बनाउनका लागि स्वास्थ्य बीमा बोर्डको संगठन संरचना तथा दरबन्दी तत्काल स्वीकृत गर्ने र एक महिनाभित्र अस्पतालका उपकरणको नियमित मर्मतसम्भार व्यवस्था सुनिश्चित गर्ने उल्लेख गरिएको छ।

विदेश रोजगारीमा जाने नेपाली नागरिकको स्वास्थ्य हेरचाहका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कबाट श्रम स्वास्थ्य सुरक्षा सम्बन्धी अभिमुखीकरण सञ्चालन गरिने पनि योजनामा समेटिएको छ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट