नेपाल हेल्थ न्युज, सुनसरी । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष तथा मुटु–मिर्गौला रोग विशेषज्ञ प्रा. डा. सञ्जीवकुमार शर्मा यस वर्ष विश्वका शीर्ष वैज्ञानिक को सूचिमा पर्नुभएको छ। अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालय र एल्सेभियरको सहकार्यमा सार्वजनिक हुने वार्षिक 'ग्लोबल साइन्स्टिफिक इम्प्याक्ट र्याङ्किङ' मा नेपालका ३१ वैज्ञानिकमध्ये शर्मा पनि समावेश हुनुभएको छ।
करिब २५ वर्षदेखि स्वास्थ्य अनुसन्धानमा सक्रिय डा. शर्माले विशेषगरी सर्पदंश उपचार सुधार, बाथरोग, मुटु तथा मिर्गौला सम्बन्धी अध्ययनमा उल्लेखनीय योगदान पुर्याउँदै आउनुभएको छ। यही योगदानका आधारमा उहाँ विश्व स्वास्थ्य संगठनका सर्पदंश कार्यक्रममा नेपाल प्रतिनिधित्व गर्दै आउनुभएको छ।
यसअघि बीपी प्रतिष्ठानमा कार्यरत रहनुभएका अहिले (डब्लुएचओ) दिल्लीस्थित सर्ने रोग विभागका निर्देशक बन्नुभएका प्रा. डा. सुमन रिजाल पनि यसपटक सूचीमा पर्नुभएको छ।
नास्टका वैज्ञानिक डा. निरञ्जन कोइरालाका अनुसार स्कोपस डाटाबेसमा आधारित यो मूल्यांकन विश्वभरका अनुसन्धानकर्ताहरूको उत्पादन, उद्धरण दर तथा अन्य बिब्लियोमेट्रिक सूचकांकका आधारमा तयार गरिन्छ। यस वर्ष सूचीमा परेका ३१ नेपाली वैज्ञानिक विश्वका सबैभन्दा प्रभावशाली शीर्ष २ प्रतिशत वैज्ञानिकमा परेको बताइन्छ।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेपछि प्रा. डा. शर्माले यसलाई नेपालको स्वास्थ्य विज्ञान अनुसन्धान क्षेत्रका लागि प्रेरणादायी उपलब्धि भन्दै प्रसन्नता व्यक्त गर्नुभएको छ। उहाँका अनुसार अनुसन्धानमै आधारित चिकित्सा अभ्यासले मात्र देशको स्वास्थ्य सेवा सुदृढ बन्छ। उहाँले भन्नुभयो, 'बिरामीको उपचार जत्तिकै आवश्यक अनुसन्धान पनि एक हो। अनुसन्धानबिना चिकित्सा विज्ञान अघि बढ्दैन।'
युवापुस्तालाई अनुसन्धानप्रति आकर्षित गर्न उहाँले लगन, अनुशासन र निरन्तरता वैज्ञानिक सफलताको आधार हुने टिप्पणी गर्नुभएको छ। उहाँ भन्नुहुन्छ—अनुसन्धानमै समर्पित हुन सक्ने वातावरण र अवसरले आफूलाई अझ अघि बढ्न प्रेरित गरेको छ।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
