नेभिगेशन

जाडोमा स्वास्थ्यको ख्याल कसरी गर्ने?

बाथ, स्वासप्रश्वास सम्बन्धी दम र मुटुका रोगीहरूले विशेष ध्यान दिनुपर्ने

नेपाल हेल्थ न्युज, काठमाडौं । जाडो सुरु भएको समयमा दीर्घकालीन रोग भएका व्यक्तिहरू विशेष ख्याल राख्नुपर्ने हुन्छ। विशेषगरी स्वासप्रश्वाससम्बन्धी समस्या, दम, मुटु र उच्च रक्तचाप भएका बिरामीहरूले जाडोमा आफ्ना स्वास्थ्य उपायहरूमा ध्यान दिनु आवश्यक छ।

डाक्टरहरूले बताउँछन् कि जाडोमा स्वासनली र रक्तनलीहरू साँघुरो हुन्छन्, जसले दम, रक्तचाप बढ्ने र मुटुसम्बन्धी जोखिमलाई बढाउँछ। दमका बिरामीले औषधि नियमित नखाने बानीले स्वास्थ्य संकट निम्त्याउन सक्छ।

सामान्य व्यक्तिलाई पनि जाडोमा भाइरल संक्रमणको खतरा बढी हुन्छ। रूघाखोकी, घाँटी खसखस, र एलर्जीको समस्या विशेष गरी जाडोयाममा देखिन्छ। यसका कारणमा गर्मीदेखि जाडोमा अचानक जीवनशैली परिवर्तन, शरीरको रोग प्रतिरोधक क्षमता कमजोर हुनु, र जाडोमा सक्रिय हुने विभिन्न भाइरसहरू मुख्य छन्।

रूघाखोकी लागेमा के गर्ने ?

डाक्टरहरूका अनुसार, रूघाखोकी लाग्दा डराउने या अत्यधिक औषधि खाने आवश्यकता छैन। शुरुवाती चरणमा तातो पानी, सुप वा झोलिलो खाना खाने, पर्याप्त आराम गर्ने, र शरीरलाई विश्राम दिने पर्याप्त हुन्छ। सामान्य भाइरस ७–१४ दिनमा निको हुन्छ।

तर, यदि स्वासप्रश्वासमा समस्या बढ्यो वा खाना खाँन असम्भव भयो भने तुरुन्त नजिकको अस्पताल वा योग्य चिकित्सकसँग सम्पर्क गर्नु अत्यावश्यक हुन्छ।

औषधि प्रयोगमा सावधानी

आजकाल औषधि पसलहरू सजिलै उपलब्ध भए पनि जथाभावी एन्टिबायोटिक वा अन्य औषधि खानु जोखिमपूर्ण हुन्छ। भाइरल संक्रमणमा एन्टिबायोटिक काम गर्दैन। आवश्यक भएमा मात्र पारासिटामोल चिकित्सकको सल्लाहअनुसार लिन सकिन्छ। एन्टिबायोटिक दुरुपयोगले भविष्यमा औषधि नलाग्ने समस्या आउन सक्छ।

जाडोमा खानपिन र जीवनशैली

जाडोमा तातो र झोलिलो खाना, पर्याप्त पानी, र मनतातो पेय पदार्थ स्वास्थ्यका लागि लाभदायी हुन्छ। दीर्घ रोगीहरूले चिकित्सकको सल्लाह अनुसार खानपिनमा ध्यान दिनुपर्छ। चुरोट, सुर्तीजन्य पदार्थ र अत्यधिक मिठाईबाट बच्नुपर्छ।

रक्सीले जाडो हटाउँछ भन्ने भ्रम

केही मानिसले रक्सी खाएपछि तातो महसुस हुन्छ भन्छन् तर चिकित्सकहरूका अनुसार त्यो केवल नशाको प्रभाव हो। रक्सी सेवनले शरीरलाई तातो बनाउँदैन, उल्टै बाहिरी चिसोको अनुभूति कम गराइदिन्छ। मुटुका दीर्घरोगीले पनि अधिकतमा ६० एमएल मात्र लिनु सुरक्षित मानिन्छ।

जाडोमा बाहिरी गतिविधि

बिहान र राति अत्यधिक चिसोमा बाहिर हिँड्ने वा व्यायाम गर्न दीर्घ रोगीहरूले टाढा रहनुपर्छ। मास्क, न्यानो कपडा, गलबन्दी र स्कार्फ लगाएर मात्र बाहिर निस्किनुपर्छ। बिहानको घाममा थोरै समय बस्नु हड्डी र भिटामिन डीका लागि लाभदायी हुन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष