नेभिगेशन

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट १ अर्ब ८९ करोड ४६ लाख

नेपाल हेल्थ न्युज, काठमडौं । स्वास्थ्य विज्ञान प्रतिष्ठानको आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित बजेट शुक्रबार सिंहदरबारमा बसेको बैठकमार्फत अनुमोदन गरिएको छ। बैठकको नेतृत्व प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री सुशीला कार्कीले गर्नुभएको थियो।

उपकुलपति डा. भरतबहादुर खत्रीले संस्थाको नीति, कार्यक्रम तथा बजेटसभामा प्रस्तुत गर्नुभएको थियो। नयाँ वित्तीय वर्षका लागि प्रतिष्ठानले १ अर्ब ८९ करोड ४६ लाख रुपैयाँ बजेट निर्धारण गरेको छ। जसमा ३६ करोड ९५ लाख सरकारी सहयोग र १ अर्ब ५२ करोड ५१ लाख रुपैयाँ आन्तरिक आम्दानी समावेश छ।

गत वर्षको तुलना गर्दा यसपटक सरकारी अनुदान घटेको छ। अघिल्लो वर्ष प्रतिष्ठानले सरकारबाट ५७ करोड १९ लाख रुपैयाँ प्राप्त गरेको थियो भने आन्तरिक आम्दानी १ अर्ब १३ करोड रुपैयाँ रहेको थियो।

बैठकमा बोल्दै कुलपति कार्कीले ५ सय शय्या क्षमताको यो प्रतिष्ठानले उत्कृष्ट विशेषज्ञ सेवा प्रदान गर्दै आएको र सरकारबाट आवश्यक सहयोग निरन्तर रहने बताउनुभयो। उहाँका अनुसार अत्याधुनिक स्वास्थ्य उपकरणले सुसज्जित यो अस्पतालले वार्षिक लाखौँ नागरिकलाई गुणस्तरीय सेवा दिँदै विश्वसनीय स्वास्थ्य केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।

२०७२ सालमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट रूपान्तरण भएर प्रतिष्ठान बनेको यो संस्थामा हाल स्नातकोत्तर (एमडी/एमएस) तहमा १३ विभागमार्फत १०० विद्यार्थी अध्ययनरत छन्। एमडी/एमएसका तीन समूहले अध्ययन पूरा गरिसकेका छन्। स्नातक तहका एमबीबीएस, बीएनएस तथा बीएससी नर्सिङ कार्यक्रममा १७० विद्यार्थी भर्ना छन्।

उक्त बैठकमा सहकुलपति तथा स्वास्थ्यमन्त्री डा. सुधा गौतम, स्वास्थ्य सचिव डा. विकास देवकोटा, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ तथा अन्य सदस्यहरू उपस्थित थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट