नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम र नेपालका लागि जापानका राजदूत महामहिम माइदा तोरुबीच आज शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटवार्ता पारस्परिक मित्रतापूर्ण वातावरणमा भएको र नेपाल–जापानबीच स्वास्थ्य क्षेत्रमा सहकार्यका विषयमा महत्वपूर्ण छलफल भएको मन्त्रालयले जनाएको छ।
भेटमा मन्त्री डा. गौतमले जापानले विगतमा नेपालप्रति देखाएको निरन्तर सहयोगको कदर व्यक्त गर्दै भूकम्प र कोभिड–१९ महामारीका चुनौतीपूर्ण समयमा प्रदान गरिएको सहयोगको विशेष धन्यवाद दिनुभयो।
उहाँले कान्ति बाल अस्पताल, वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालजस्ता स्वास्थ्य संस्थाको पूर्वाधार विकासमा जापानको योगदानप्रति पनि आभार व्यक्त गर्नुभयो।
छलफलको क्रममा मन्त्री गौतमले मातृ–शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, स्वास्थ्य बीमा, राष्ट्रिय औषधी प्रयोगशालाको क्षमता वृद्धि र जापानमा कार्यरत नेपाली श्रमिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर स्वास्थ्य क्षेत्रका एजेन्डा प्रस्तुत गर्नुभयो। उहाँले यस क्षेत्रमा द्विपक्षीय सहकार्य अझ बलियो बन्ने आशा व्यक्त गर्नुभयो।
राजदूत तोरुले पनि नेपालको स्वास्थ्य पूर्वाधार मजबुत बनाउन जापान निरन्तर सहयोग गर्न इच्छुक रहेको बताउनुभयो। उहाँले विशेषगरी राष्ट्रिय औषधी प्रयोगशालाको क्षमता विस्तार र जापानमा रहेका नेपाली श्रमिकहरूको स्वास्थ्य प्रवर्द्धन, परीक्षण तथा उपचारमा सहयोग गर्न सकिने स्पष्ट पार्नुभयो।
दुवै पक्षले विगतको सफल सहकार्यलाई अझ प्रभावकारी र दीगो बनाउने उद्देश्यले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा नयाँ परियोजना र साझेदारीको अवसरहरू बढ्ने विश्वास व्यक्त गर्नुभयो।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
