नेभिगेशन

म्याग्दीमा सुत्केरी सेवाभन्दा गर्भपतन सेवा लिनेको संख्या बढ्दो

नेपाल हेल्थ न्युज, म्याग्दी । बेनीस्थित प्रादेशिक अस्पतालमा हालका महिनामा सुत्केरी सेवाभन्दा सुरक्षित गर्भपतन सेवा लिने महिला बढी देखिन थालेका छन्। विशेषगरी २० वर्ष नपुगेका किशोरी तथा युवतीहरूले गर्भपतन सेवा लिने संख्या बढ्दो क्रममा छ।

नेपाल सरकारले सन् २००२ मा गर्भपतनलाई कानुनी मान्यता दिएपछि २०१६ बाट सरकारी स्वास्थ्य संस्थामा यो सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीका अनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकमा बेनी अस्पतालमा एक सय ७७ जना सुत्केरी भएका थिए भने एक सय ९१ जनाले सुरक्षित गर्भपतन सेवा प्राप्त गरे। गर्भपतन लिने मध्ये ८ जना र सुत्केरी हुनेमध्ये ३१ जना २० वर्षभन्दा कम उमेरका भएका छन्।

कार्यालयका तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्म सुत्केरी र गर्भपतन सेवा लिने गरी कूल तीन सय ७६ जनामध्ये ३९ जना २० वर्ष मुनिका थिए।

गत आर्थिक वर्ष २०८१/८२ मा भने सो सेवाहरू लिने एक हजार तीन सय ८४ मध्ये एक सय ९० जना २० वर्षभन्दा कम उमेरकाहरु थिए। त्यसमध्ये एक सय ६१ जना सुत्केरी तथा २९ जना किशोरीरयुवतीले गर्भपतन सेवा लिएका थिए।

त्यसअघिको वर्ष २०८०/८१ मा कूल एक हजार चार सय ६५ मध्ये एक सय ६५ जना २० वर्ष मुनिका रहेका थिए। सोसमय २० वर्षभन्दा कम उमेरका ३३ जनाले गर्भपतन सेवा लिएका थिए भने बाँकी आठ सय ६८ जना २० वर्षभन्दा माथिका थिए।

जिल्लामा पछिल्लो जनगणना अनुसार प्रजननयोग्य उमेर समूहका महिलाको संख्या २१ हजार एक सय ८३ छ। तर परिवार नियोजनको प्रयोग दर ४७ प्रतिशतमा सीमित रहेको जानकारी कार्यालयले दिएको छ। बाँकी ५३ प्रतिशत दम्पती अझै आधुनिक साधनको पहुँचबाट टाढा छन्।

स्वास्थ्यकर्मीहरूका अनुसार २० वर्षभन्दा कम उमेरमा गर्भवती हुनुलाई प्रजनन स्वास्थ्यका दृष्टिकोणले जोखिमपूर्ण मानिन्छ। कानुनले पनि २० वर्षभन्दा अघि विवाह गर्न निषेध गरेको छ। परिवार नियोजनको प्रयोग कम हुनु, युवा उमेरमै गर्भधारण बढ्नु र गर्भपतन लिनुपर्ने अवस्था आउनु स्वास्थ्यका लागि चुनौतीका रूपमा देखिएको छ।

अस्पताल प्रमुख डा. रविरञ्जन प्रधान भन्नुहुन्छ, 'सुरक्षित गर्भपतन सेवा सहज र पहुँचयोग्य हुनु सकारात्मक कुरा हो। तर पटक–पटक गर्भपतन गराउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ। २० वर्षभन्दा मुनिका किशोरी शारीरिक तथा मानसिक रूपमा परिपक्व नहुँदा गर्भधारण नै चुनौतीपूर्ण हुन्छ।' उहाँका अनुसार यस्ता घटना बालविवाह, अपर्याप्त यौन शिक्षादेखि लिएर समाजिक विवशतासम्मका कारणले भइरहेको छ।

म्याग्दी बहुमुखी क्याम्पसकी उपप्राध्यापक रेखा कौशल रेग्मीका अनुसार विवाहका चालचलनमा परिवर्तन आए पनि बालविवाह भनेमा खासै कमी आएको छैन। उहाँ भन्नुहुन्छ, ‘मेलाजात्राका कारण धेरै किशोरी र युवती अनिच्छित गर्भधारणको जोखिममा पर्छन्, जसले उनीहरूको भविष्य नै प्रभावित बनाउँछ।

नेपालमा हाल पनि करिब ५३ प्रतिशत गर्भधारण अनिच्छित हुने तथ्यांक छ। यस्तै, विवाह दर्ता नहुँदा जन्मदर्ता, विद्यालय भर्ना तथा अन्य सरकारी सेवा सुविधा लिन पनि धेरै परिवारले समस्या भोग्न थालेको बताइन्छ। रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट