नेपाल हेल्थ न्युज, झापा । झापा जिल्लामा गरिएको पछिल्लो अध्ययनले तीन सय ८१ जनामा अटिजमस्पेक्ट्रमसम्बन्धी समस्या रहेको तथ्य सार्वजनिक भएको छ । यीमध्ये अधिकांश ३ सयभन्दा बढी बालबालिका रहेका छन्।
करुणा फाउन्डेसन झापाका संयोजक निश्चल घिमिरेका अनुसार पहिचान भएकामध्ये दुई सय ५४ बालक, ८२ बालिका र ४५ जना अन्य उमेर समूहका व्यक्तिहरू छन्।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, स्थानीय तहहरू तथा फाउन्डेसनबीचको सहकार्यमा गत वर्षदेखि जिल्लाका सबै १५ पालिकामा अटिजम भएकाको खोज, पहिचान र अभिलेखीकरण थालिएको हो। पहिचान गरिएका बालबालिकालाई स्वास्थ्य, शिक्षा तथा अन्य सेवामा पहुँच सहज बनाउन मूलप्रवाहीकरण कार्यक्रम लागू गरिएको घिमिरेले बताउनुभयो।
जिल्लामा हालसम्म सूचीकृत १३ हजार ८६३ जना अपाङ्गता भएका व्यक्तिमध्ये ३८१ जनामा अटिजमसम्बन्धी समस्या पुष्टि भएको छ।
प्रदेश सरकारले पाँच वर्षअघि सुरु गरेको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम प्रारम्भमा इलाम, मोरङ, सुनसरी, खोटाङ, भोजपुर, पाँचथर र सङ्खुवासभामा सञ्चालन गरिएको थियो। झापा, ताप्लेजुङ र तेह्रथुममा भने गत वर्षदेखि यो कार्यक्रम विस्तार गरिएको छ।
अटिजम भएका करिब एक सय बालबालिकालाई विर्तामोडको गरामनीस्थित महेन्द्ररत्न मावि र दमकको एक विद्यालयमा अध्ययनको व्यवस्था गरिएको छ। यी विद्यालयमा पालिकाको सहयोगमा आवश्यक थेरापीसहित निःशुल्क सेवा प्रदान गरिँदै आएको फाउन्डेसनले जनाएको छ।
यसका साथै, भद्रपुर, मेचीनगर, अर्जुनधारा तथा कमल गाउँपालिकाले अटिजम केयर सेन्टर सञ्चालनका लागि बजेट विनियोजन गरी तयारी थालेका छन्। अन्य पालिकाहरूले पनि समुदायस्तरमा छलफल अगाडि बढाइरहेका छन्। रासस
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
