नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौं महानगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने निर्णय कार्यान्वयनमा ल्याएको छ। अब ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, बेवारिसे अवस्था वा लैङ्गिक हिंसामा परेका व्यक्तिलगायतलाई निःशुल्क उपचार उपलब्ध गराइनेछ।
उपप्रमुख सुनिता डंगोलका अनुसार, चालु आर्थिक वर्षका लागि महानगरले क्षेत्रपाटी निःशुल्क चिकित्सालयसँग औपचारिक सम्झौता गरी सेवा सञ्चालन थालिसकेको छ। उहाँले पारिवारिक सहयोग नपाई उपचार लिन नपुगेका व्यक्तिलाई अब महानगरले साथ दिने वातावरण बनेको भन्दै यसलाई सकारात्मक सुरुआतको रूपमा वर्णन गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले सेवा आवश्यक पर्ने नागरिकले सजिलै उपचार पाउन र प्रणालीमार्फत दुरुपयोग रोक्न अस्पताललाई ध्यानपूर्वक सेवा सञ्चालन गर्न आग्रह गर्नुभयो।
अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले पनि महानगरको सहकार्यपछि उपचारमा रुचि नदेखाउने उमेरका व्यक्तिहरू समेत अस्पताल आउन सुरु गरेको र समुदायमा स्वास्थ्यप्रति जागरूकता बढेको उल्लेख गर्नुभयो।
सम्झौता अनुसार महानगरका कर्मचारी तथा जनप्रतिनिधिले समेत उपचार पाउनेछन्। महिला कर्मचारी र जनप्रतिनिधिका लागि म्यामोग्राम सेवा उपलब्ध हुनेछ। लैङ्गिक हिंसामा परेका व्यक्ति, एकल महिला, बेवारिसे व्यक्ति, अपाङ्गता भएका व्यक्ति तथा सिटी स्क्यान आवश्यक परेका कर्मचारीको उपचारका लागि सामाजिक विकास विभागको सिफारिस अनिवार्य हुनेछ। यी सबै खर्च महानगरले व्यहोर्नेछ।
चालु वर्षका लागि महानगरले १ करोड ५० लाख रुपैयाँ छुट्याएको छ भने अस्पतालले ३० प्रतिशत थप योगदान गरी करिब १ करोड ८० लाख रुपैयाँ बराबरको सेवा प्रदान गर्नेछ। सेवा लिन कर्मचारी तथा जनप्रतिनिधिले परिचयपत्र, ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता कार्ड, राष्ट्रिय परिचयपत्र वा नागरिकता प्रस्तुत गर्नुपर्नेछ।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
