नेभिगेशन

चिसो र प्रदूषण बढेसँगै भाइरल रोगको जोखिम उच्च, बालबालिका र जेष्ठ नागरिक बढी प्रभावित

नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौं उपत्यकामा चिसो र प्रदूषण दुवै बढ्दै गएसँगै श्वासप्रश्वाससम्बन्धी समस्या लिएर अस्पतालमा भर्ना हुनेको संख्या तीव्र रूपमा बढेको चिकित्सकहरूले बताएका छन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका अनुसार पछिल्लो सातादेखि दम, खोकी र सास फेर्न गाह्रो हुने समस्या भएका बिरामी उल्लेख्य रुपमा बढेका छन्। मनसुनपछि तापक्रम घट्नु, तुवाँलो बाक्लिनु र हावामा धूलो–धुँवा बढ्नुका कारण भाइरल तथा ब्याक्टेरियाको संक्रमण फैलिन अनुकूल वातावरण बनेको छ। 

विशेषगरी १० वर्षमुनिका बालबालिका, ६० वर्षमाथिका जेष्ठ नागरिक तथा रोग प्रतिरोध क्षमता कमजोर भएकाहरू जस्तैः क्यान्सरका बिरामी, डायलासिस गराइरहेका व्यक्ति, गर्भवती, दीर्घ दमका बिरामी, सुगर वा मुटुरोग भएका उच्च जोखिममा रहेको चिकित्सकहरूको भनाइमा जोखिम अझै बढ्न सक्ने भएकाले सतर्कता रहन आग्रह गरेका छन्। 

मौसमविद्हरूका अनुसार काठमाडौंमा न्यूनतम तापक्रम लगातार घटिरहेको छ भने तराईका धेरै स्थानमा कुहिरो र हुस्सु फैलिन थालेको छ। चिसो र प्रदूषण मिसिँदा श्वासप्रश्वासजन्य समस्या बढ्ने भएकाले मास्क लगाउने, बिहान–साँझको कडा चिसोमा बाहिर नहिँड्ने, पोषणयुक्त आहार खाने र दीर्घ रोगका औषधि नियमित लिने जस्ता सावधानी अवलम्बन गर्न चिकित्सकहरूले अनुरोध गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट