नेभिगेशन

एड्स महामारी अन्त्यका लागि सबैलाई एकजुट हुन स्वास्थ्यमन्त्री. गौतमको आह्वान

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले एड्स महामारी अन्त्यका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। ३८औँ विश्व एड्स दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै उहाँले एचआईभीरएड्स नियन्त्रणका अभियानमा निरन्तर सहयोग गर्दै आउने सबैप्रति कृतज्ञता व्यक्त गर्नुभयो।

सरकारले सन् २०३० भित्रै एचआईभी महामारी समाप्त गर्ने लक्ष्य लिएको छ। मन्त्री गौतमका अनुसार रोकथाम, उपचार र हेरचाहको पहुँच सबैका लागि सुनिश्चित गर्न सामूहिक प्रयास अपरिहार्य छ।

विश्वव्यापी आर्थिक चुनौती र सामाजिक भेदभावले एचआईभी प्रतिकार्यमा असर परिरहेको उल्लेख गर्दै उहाँले परिवर्तनकारी दृष्टिकोणसहित अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

यस वर्ष जेनजी पुस्ताले अघि सारिरहेको ऊर्जाले एचआईभीका विषयमा जागरूकता फैलाउन महत्वपूर्ण योगदान पुर्याइरहेको मन्त्री गौतमको भनाइ छ। नियमित एन्टीरेट्रो भाइरल औषधि सेवन गरेर सामान्य जीवन बिताइरहेका संक्रमितहरूलाई उहाँले स्वस्थ जीवनको शुभकामना पनि व्यक्त गर्नुभयो।

नेपालले पछिल्ला दुई दशकमा एचआईभी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। सन् २०१० को तुलनामा २०२४ सम्म आइपुग्दा नयाँ सङ्क्रमणको दर र एड्सका कारण हुने मृत्यु दुवै करिब ७६ प्रतिशतले घटेका छन्। यिनै उपलब्धिलाई आधार बनाएर दिगो विकास लक्ष्य प्राप्तिमा थप सक्रिय हुनुपर्ने मन्त्री गौतमको धारणा छ।

एचआईभीविरुद्धको विश्वव्यापी लक्ष्यअनुसार नेपालले ९५–९५–९५ रणनीति अवलम्बन गरिरहेको छ । ९५ प्रतिशत व्यक्तिले आफ्नो संक्रमित अवस्थाबारे जानकारी पाउने, तिनमध्ये ९५ प्रतिशतले उपचार प्राप्त गर्ने र उपचाररत व्यक्तिमध्ये ९५ प्रतिशतमा भाइरसको मात्रा न्यून तहमा पुर्‍याउने।

हालसम्म नेपालले यी लक्ष्यमध्ये क्रमशः ९० प्रतिशत, ८८ प्रतिशत र ७६ प्रतिशत नतिजा हासिल गरेको छ। यस वर्षको विश्व एड्स दिवसको नारामा ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ निर्धारण गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट