नेभिगेशन

विश्व स्वास्थ्य संगठनले सिफारिस गर्यो मोटोपना नियन्त्रणमा जीएलपी–१ थेरापी

नेपाल हेल्थ न्युज, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मोटोपना बढ्दै गएको विश्वव्यापी समस्यालाई ध्यानमा राख्दै जीएलपी–१ (ग्लुकागन–जस्तै पेप्टाइड–१) थेरापीलाई औपचारिकरूपमा आफ्ना नवीनतम मार्गनिर्देशनमा समावेश गरेको छ। सोमबार सार्वजनिक गरिएको यस निर्देशिकामा मोटोपनालाई दीर्घरोगको रूपमा मान्यता दिँदै जीएलपी–१ आधारित औषधिलाई अत्यावश्यक उपचार सामग्रीको सूचीमा राखिने उल्लेख गरिएको छ।

डब्लुएचओका अनुसार मोटोपनाका कारण मुटु तथा रक्तनलीसम्बन्धी रोग, टाइप–२ मधुमेह, केही प्रकारका क्यान्सर र अन्य गम्भीर स्वास्थ्य समस्या बढिरहेको पाइएको छ। त्यसैले मोटोपना भएका व्यक्तिको मृत्यु दर र दीर्घरोगको जोखिम कम गर्न यो थेरापी प्रभावकारी हुने बताइन्छ।

गत वर्ष सेप्टेम्बरमा नै टाइप–२ मधुमेहका लागि प्रयोग हुने जीएलपी–१ औषधिलाई डब्लुएचओले आवश्यक औषधीको सूचीमा समावेश गरिसकेको थियो। अब भने मोटोपना नियन्त्रणका लागि पनि यही औषधि प्रयोग गर्न मिल्नेगरी विस्तारित निर्देशन जारी गरिएको हो।

विश्वव्यापी तथ्याङ्कअनुसार हाल करिब ७ अर्ब मानिसमध्ये ठूलो संख्या मोटोपनाबाट प्रभावित छन् र सन् २०२४ मा मात्र मोटोपनासम्बन्धी कारणले ३ करोड ७० लाखभन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरिएको छ। सन् २०३० सम्म मोटोपना भएका व्यक्तिको संख्या दोब्बर हुनसक्ने प्रक्षेपणले डब्लुएचओलाई थप सतर्क बनाएको छ।

नयाँ मार्गनिर्देशनअनुसार गम्भीर जोखिममा रहेका वयस्कले (गर्भवती बाहेक) चिकित्सकको सल्लाहमा जीएलपी–१ थेरापी उपयोग गर्न सक्नेछन्। यद्यपि, औषधि मात्र पर्याप्त नहुने भएकाले स्वस्थ आहार, नियमित व्यायाम र समग्र जीवनशैली परिवर्तनलाई उपचारको अनिवार्य हिस्सा बनाउनुपर्ने स्पष्ट गरिएको छ।

डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानम घेब्रेयससले मोटोपनालाई विश्वकै प्रमुख स्वास्थ्य चुनौती भन्दै सबै राष्ट्रलाई सहयोग गर्न संगठन प्रतिबद्ध रहेको बताए। उनका अनुसार, दीर्घरोगका रूपमा मोटोपनाको उचित व्यवस्थापन सम्भव छ, र नयाँ निर्देशन त्यसैको सहायक साधन हो।

डब्लुएचओले राष्ट्रहरूलाई जीवनशैली सुधार कार्यक्रम, स्वस्थ खानाको पहुँच, तथा मोटोपना व्यवस्थापनसम्बन्धी स्वास्थ्य प्रणाली मजबुत बनाउन नीति निर्माण गर्न आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट