नेपाल हेल्थ न्युज, चितवन । एचआईभी–एड्ससँग संक्रमित भएको तथ्य सार्वजनिक गर्दा र लुकाउँदा दुवै अवस्थामा समस्या भोग्नुपरेको बताउँछन्। खुलेर पहिचान गराउँदा रोजगारी र सामाजिक व्यवहारमा कठिनाइ देखिने, भने नखुलाउँदा आवश्यक सेवा र उपचारमा बाधा पुग्ने गुनासो संक्रमितहरूले गरेका छन्।
माडी नगरपालिकाकी अस्मिता महतो (नाम परिवर्तन) भन्छिन्, ‘हामीले खुलायौँ भने रोजगारी गुम्छ, नखुलायौँ भने उपचारमै समस्या हुन्छ, आखिर कसरी अघि बढ्ने ?’ उनको भनाइअनुसार आफू काम गर्दै आएको संस्थाले एआरटी औषधि सेवन गरिरहेको थाहा पाएपछि तत्काल रोजगारबाट हटाइदिएको थियो। परिवारको खर्च धान्न काम खोजिरहँदा संक्रमणका कारण अवसर गुमाउनु परेको उनको पीडा छ।
भरतपुर महानगरकी ५६ वर्षीया अम्बिका देवकोटा (नाम परिवर्तन) ले पनि संक्रमण लुकाउँदै उपचार गर्दा निकै कठिनाइ व्यहोर्नुपरेको बताउँछिन्। २०६९ सालदेखि औषधि खाइरहेकी उनले छोरा बाहेक परिवारका अन्य सदस्यलाई जानकारी दिन सकेकी छैनन्। उपचारका क्रममा उनको व्यापारसमेत बन्द भएको थियो, अहिले भने उनी ज्यालादारी काम गरेर गुजारा चलाइरहेकी छन्।
कालिका नगरपालिकाकी अस्मिता सुवेदी (नाम परिवर्तन) आफूसँग भएको संक्रमणको कारण परिवारमै अपमान सहनु परेको स्मरण गर्छिन्। शुरुवाती वर्षमा सासू र नन्दले घरबाट निकालेर त्रिपाल टाँगेर बस्न बाध्य पारेको अनुभव उनी सुनाउँछिन्। पानी लिन धारा जाँदा समेत आफूसँग एउटै धारा प्रयोग गर्न नमान्ने परिवार अहिले भने उनी खुलेर आएको कारण सहयोगी बनेको उनी बताउँछिन्। अहिले उनी औषधि सेवन गर्दै समाजमा जागरण कार्यक्रमसमेत गराइरहेकी छन्।
बागलुङका ६५ वर्षीय रामचन्द्र आचार्य (नाम परिवर्तन)ले संक्रमण थाहा पाएपछि आफूलाई समाजबाट अलग्गै राखेर बस्नुपरेको बताए। काम गर्ने कम्पनीले विदेशमै जागिरबाट हटाइदिएपछि नेपाल फर्किँदा परिवार र समाज दुवैतर्फबाट हीन दृष्टिले हेर्ने व्यवहार सहनुपरेको उनले बताए। यद्यपि समयसँगै समाजको व्यवहार परिवर्तन हुँदै गएको र सबैले मिलेर एचआईभीसँग लड्नुपर्ने उनको भनाइ छ।
भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. प्रमोद पौडेलका अनुसार २०३० भित्र नेपालमा एचआईभी संक्रमण शून्यतर्फ लैजाने लक्ष्यसहित काम भइरहेको छ। उनले अहिले संक्रमण नियन्त्रण र संक्रमितको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिइएको बताए। उनको भनाइमा, ‘समस्या घट्दै गएको छ, तर पूर्ण नियन्त्रणका लागि समुदायस्तरमै चेतना बढाउनु आवश्यक छ।’
एएचएफ नेपालका कार्यक्रम संयोजक कृष्णहरि सापकोटा भन्छन्, ‘समाजले संक्रमित व्यक्तिलाई सामान्य व्यक्तिजस्तै स्वीकार्नुपर्छ। नियमित औषधि सेवनले संक्रमण नियन्त्रणमा राख्न सकिन्छ।’ रासस
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
