नेभिगेशन

एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा

नेपाल हेल्थ न्युज, काठमाडौं । पछिल्लो आर्थिक वर्षमा देशभर १ करोड २५ लाखभन्दा बढी नागरिकले अस्पतालमै पुगेर स्वास्थ्य बीमा कार्यक्रममार्फत उपचार सेवा प्राप्त गरेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ।

बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेका अनुसार सेवा लिने व्यक्तिको औसत अस्पताल भ्रमण पाँच पटकको हाराहारीमा रहेको छ। जसमध्ये करिब २५ लाखले एक पटक मात्र बीमामार्फत सेवा उपयोग गरेका छन्।

उहाँका अनुसार स्वास्थ्य बीमामा आबद्ध भएर अस्पताल सेवा लिनेको संख्या पछिल्ला वर्षहरूमा निरन्तर वृद्धि हुँदै आएको छ। काफ्लेले गुणस्तरीय सेवा विस्तार र उपचार खर्च घटाउने दिशामा स्वास्थ्य बीमा कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। कवरेज विस्तारका लागि ऐन संशोधनसहित आवश्यक प्रक्रिया अघि बढाइरहेको पनि उहाँले बताउनुभयो।

स्रोतको कमीका कारण कार्यक्रम प्रभावकारी बन्न नसकेको आलोचना

धुलिखेल अस्पतालका चिकित्सक डा. बलाराम मल्लले स्रोत र संरचनाको कमीका कारण स्वास्थ्य बीमा कार्यक्रमले अपेक्षित प्रभाव पार्न नसकेको टिप्पणी गर्नुभयो। उहाँका अनुसार बीमितले समयमै तथा गुणस्तरीय सेवा नपाउने अवस्था कायम रहँदा कार्यक्रमप्रति नागरिकको विश्वास कमजोर बन्ने जोखिम बढेको छ।

उहाँले अस्पतालहरूले पाउनुपर्ने भुक्तानी ढिलाइ हुँदा सेवा प्रवाहमा थप समस्या देखिने उल्लेख गर्नुभयो। कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका सदस्य डा. मुक्तिराम श्रेष्ठले पनि बोर्ड आर्थिक रूपमा निर्भर बन्न बाध्य भएको र त्यसले कार्यक्रमलाई कमजोर बनाएको बताउनुभयो।

श्रेष्ठका अनुसार बोर्डले वार्षिक रूपमा करिब पौने चार अर्ब प्रिमियम संकलन गरे पनि प्रत्येक वर्ष अस्पतालहरूलाई करिब १४ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्ने दायित्व रहन्छ। वार्षिक १० अर्बभन्दा बढी तिर्नुपर्ने अवस्थाले कार्यक्रम दीर्घकालीन रूपमा टिकाउ नहुने उहाँको भनाइ छ।

स्वास्थ्य पहुँचमा असमानता

डा. श्रेष्ठका अनुसार स्वास्थ्य सेवाको पहुँच ग्रामीण क्षेत्रमा अझै न्यून छ। देशको करिब ६०–६५ प्रतिशत जनसंख्या गाउँमा बस्दै आए पनि स्वास्थ्य संस्थामध्ये ६० प्रतिशतभन्दा बढी शहरी क्षेत्रमा केन्द्रित छन्।

यसले ग्रामीण बासिन्दालाई उपचारका लागि शहर धाउन बाध्य बनाएको र स्वास्थ्य सेवा वितरणमा गम्भीर असमानता कायम रहेको उहाँले बताउनुभयो।

स्थानीय तहसँग समन्वय गरी स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दुलाई विस्तार गर्न सके धेरै समस्या आधारमै समाधान हुन सक्ने उहाँको धारणा छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट