नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न विभिन्न निकाय र सरोकारवालाहरूसँग सहकार्य गर्न आग्रह गरेको छ। स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस २०२५ को अवसरमा मन्त्रालयले विज्ञप्ति जारी गर्दै नीति निर्माणदेखि सेवा कार्यान्वयनसम्म सबै तहमा सक्रिय भूमिका निभाउन सबै पक्षलाई आग्रह गरेको हो।
यस वर्ष दिवस ‘स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि वित्तीय सुरक्षा भन्ने नाराका साथ मनाइँदैछ। मन्त्रालयका अनुसार संविधान, जनस्वास्थ्य सेवा ऐन, नियमावली र राष्ट्रिय स्वास्थ्य नीतिबाट सुनिश्चित गरिएको आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा नागरिकले निःशुल्क पाउने अधिकारलाई व्यवहारमा उतार्न सरकारले वार्षिक कार्यक्रममार्फत काम गर्दै आएको छ।
संघीय संरचना लागू भएपछि देशभरका स्थानीय आवश्यकता, सामाजिक–आर्थिक अवस्थाको भिन्नता र स्वास्थ्यका विभिन्न जोखिमलाई मध्यनजर गर्दै नयाँ राष्ट्रिय स्वास्थ्य नीति तयार गरिएको छ, जसले गुणस्तरीय स्वास्थ्य सेवा सबैलाई उपलब्ध गराउने लक्ष्यलाई प्राथमिकतामा राखेको छ। विशेषगरी सेवा नपुगेका समुदायमा स्वास्थ्य सेवा उपभोग बढाउने, सेवा प्रवाह बलियो बनाउने र समतामूलक पहुँच कायम गर्ने उद्देश्य समेटिएको छ।
नेपालले हाल स्थानीय तहका सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना, प्रत्येक स्थानीय तहमा आधारभूत सेवा प्रदान गर्ने अस्पताल, सातै प्रदेशमा आधुनिक र विशेषज्ञ सेवा उपलब्ध गराउने अस्पताल निर्माण तथा ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम विस्तारजस्ता पहल अघि बढाइरहेको छ। साथै दुर्गम क्षेत्रमा टेलिमेडिसिन सेवा सञ्चालनमार्फत स्वास्थ्य पहुँच विस्तार गरिँदैछ।
मन्त्रालयका अनुसार स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि, सेवा प्रदायकको कार्यसम्पादन सुधार, विशेषज्ञ सेवा विस्तार, स्वास्थ्य बीमा सुधार तथा आधारभूत स्वास्थ्य सेवा बलियो बनाउन बहुआयामिक सहकार्य सरकारले प्राथमिकतामा राखेको छ। यसैक्रममा स्वास्थ्यमा सर्वव्यापी पहुँच प्राप्त गर्ने लक्ष्यअनुसार मार्गचित्र र दीर्घकालीन रणनीतिक योजना कार्यान्वयन भइरहेको छ।
स्वास्थ्यमा सर्वव्यापी पहुँचको अवधारणाले कसैले आर्थिक भारका कारण उपचारबाट वञ्चित नहोस् भन्ने सुनिश्चित गर्छ। यसले स्वास्थ्य प्रवर्धनदेखि रोग रोकथाम, उपचार, पुनःस्थापना र दीर्घकालीन हेरचाहसम्मका सबै सेवा समेट्छ, र प्रभावकारी प्राथमिक स्वास्थ्य प्रणालीमा आधारित हुन्छ। मन्त्रालयका अनुसार यस्तो पहुँचले गरिबी घटाउन, पारिवारिक तथा सामुदायिक स्वास्थ्य सुधार गर्न र जनस्वास्थ्य संकटको जोखिम कम गर्न महत्वपूर्ण भूमिका खेल्छ।
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
