नेपाल हेल्थ न्युज, नेपालगञ्ज । भेरी अस्पतालमा उपचारका क्रममा एक नवजात शिशुको मृत्यु भएको घटनाप्रति अस्पताल प्रशासनले दुःख व्यक्त गरेको छ। अस्पतालका अनुसार मिति २०८२/०८/२५ गते एक गर्भवती महिला पेट दुखाइको समस्या लिएर अस्पतालको लेबर कक्षमा भर्ना भएकी थिइन्।
अस्पतालको विज्ञप्तिअनुसार ती महिलामा पाठेघरको पानीको फोका फुटिसकेको (मेम्ब्रेन रप्चर) अवस्थामा गर्भ खस्ने प्रक्रिया सुरु भइसकेको थियो। गर्भको अवधि २३ हप्ता मात्र पुगेको, भिडियो एक्स–रेमा शिशुको तौल ६१७ ग्राम देखिएको, मुटुको चाल कमजोर रहेको तथा आमामा ज्वरो र रगतमा संक्रमणका लक्षण देखिएकाले गर्भावस्थालाई निरन्तरता दिन नसकिने अवस्था (इनएभिटेबल एबोर्सन) रहेको अस्पतालले जनाएको छ। यस्तो अवस्थामा आमाको जीवन जोगाउन प्राथमिकता दिँदै उपचार गरिएको अस्पतालको भनाइ छ।
मिति २०८२/०८/२८ गते गर्भ खसेपछि जन्मिएका शिशुमा मुटुको चाल र श्वास–प्रश्वासको कुनै संकेत नदेखिएकाले शिशु जीवित नरहेको जानकारी परिवारजनलाई दिई शिशु हस्तान्तरण गरिएको थियो। तर करिब चार घण्टापछि शिशुमा जीवित रहेको संकेत देखिएपछि परिवारजनले पुनः अस्पतालमा भर्ना गरी उपचार गराएका थिए।
अस्पतालका अनुसार उक्त शिशु गर्भको अवधि २८ हप्ताभन्दा कम ‘प्री–टर्म’ र तौल १००० ग्रामभन्दा कम ‘एक्सट्रीम लो बर्थ वेइट’ भएकाले जीवित रहने सम्भावना अत्यन्त न्यून थियो। अपवादस्वरूप देखिने ‘सस्पेन्डेड एनिमेसन’ वा ‘लाजरस फेनोमेनन’ का कारण ढिलो गरी जीवनका संकेत देखिएको भए पनि मिति २०८२/०८/२९ गते शिशुको पुनः मृत्यु भएको अस्पतालले जनाएको छ।
अस्पताल प्रशासनले उपलब्ध स्रोत र क्षमताभित्र रहेर उपचारमा अधिकतम प्रयास गरिएको दाबी गर्दै, यस्ता संवेदनशील घटनामा बिरामीका आफन्तसँग सम्भावित परिणामबारे पर्याप्त सञ्चार र परामर्श गर्न नसकिएको स्वीकार गरेको छ। आगामी दिनमा यस किसिमका कमजोरी सुधार गर्दै जाने प्रतिबद्धता पनि अस्पतालले व्यक्त गरेको छ।
घटनाबाट पीडित परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै अस्पताल प्रशासनले सहानुभूति प्रकट गरेको छ। भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. मीराजन सुबेदीले जारी गरेको विज्ञप्तिमा उक्त जानकारी दिइएको हो।

बाँकेमा हात्तीपाइले विरुद्धको १० दिने औषधि सेवन अभियान सुरु
शुक्रबार, माघ ९, २०८२
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल
शुक्रबार, माघ ९, २०८२
सानोठिमी बाल सुधार गृहमा झडप, १३ घाइते
शुक्रबार, माघ ९, २०८२

