नेपाल हेल्थ न्युज, नवलपरासी । (बर्दघाट–सुस्ता पूर्व)को नवलपुर जिल्लास्थित मध्यविन्दु नगरपालिकामा १७ करोड ५६ लाख २८ हजार रुपैयाँको लगानीमा निर्माण गरिएको नगर अस्पताल भवन सञ्चालनमा आएको छ। चोरमारा क्षेत्रमा निर्माण गरिएको उक्त अस्पताल भवनको आइतबार औपचारिक उद्घाटन गरिएको हो।
विसं २०७९ मङ्सिरमा शिलान्यास गरी सुरु गरिएको निर्माण कार्य तीन वर्षभित्र सम्पन्न भएको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले जानकारी दिनुभयो। चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै १५ शय्याको नगर अस्पतालका रूपमा पुनःनिर्माण गरिएको उहाँले बताउनुभयो।
दुई तले उक्त अस्पताल भवनमा ४२ वटा कोठा रहेका छन्। नयाँ संरचना बनेसँगै स्वास्थ्य सेवा प्रवाह अझ प्रभावकारी र सहज भएको नगर प्रमुख अधिकारीको भनाइ छ। अस्पतालमा बहिरङ्ग सेवा, प्रयोगशाला, अपरेशन थियटर, फार्मेसी, अन्तरङ्ग विभाग, प्रशासनिक कक्ष तथा चिकित्सक आवासको व्यवस्था गरिएको छ।
पूर्वाधार निर्माणसँगै सेवा विस्तारको कामसमेत अघि बढाइएको नगरपालिकाले जनाएको छ। नगर अस्पतालबाट मध्यविन्दु नगरपालिकाका बासिन्दाका साथै विनयी त्रिवेणी, हुप्सेकोट र पूर्वी पाल्पाका नागरिकले समेत स्वास्थ्य सेवा लिन सक्नेछन्।
यसै महिनादेखि एमडिजिपीसहित दैनिक रूपमा विशेषज्ञ सेवा उपलब्ध गराउने तयारी गरिएको नगर प्रमुख अधिकारीले बताए। बालरोग, हाडजोर्नी, फिजियोथेरापी लगायतका सेवाका साथै आँखा अस्पतालसमेत सञ्चालनमा ल्याइएको छ। शल्यक्रियासहितको आँखा उपचार सेवा सुरु भएसँगै स्थानीय आँखाका बिरामीले ठूलो राहत पाउने अपेक्षा गरिएको छ।
अस्पतालका प्रमुख अमरेशचन्द्र साहका अनुसार हाल नगर अस्पतालमा दैनिक करिब ३०० जनाले उपचार सेवा लिइरहेका छन्। आकस्मिक सेवा पनि नियमित रूपमा सञ्चालनमा रहेको उहाँले बताउनुभयो।
पूर्व–पश्चिम राजमार्ग नजिकै अवस्थित भएकाले सडक दुर्घटनामा घाइते भएका बिरामीलाई समयमै उपचार उपलब्ध गराउन यो अस्पताल महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। नगर अस्पताल सञ्चालनमा आएसँगै ग्रामीण क्षेत्रका नागरिकलाई आफ्नै आसपासमा गुणस्तरीय स्वास्थ्य सेवा लिन सहज हुने विश्वास नगरपालिकाले व्यक्त गरेको छ।
महिनावारी दुखाइबाट राहत पाउने घरेलु तरिका
आइतबार, वैशाख १३, २०८३
स्वास्थ्य मन्त्रालय प्रवक्ताको जिम्मेवारी यशोदा अर्यालाई
आइतबार, वैशाख १३, २०८३
स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी हेरफेर: को कहाँ ?
आइतबार, वैशाख १३, २०८३
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीको वीर अस्पतालमा सरुवा
शुक्रबार, वैशाख ११, २०८३

