नेभिगेशन

उम्मेदवारी खारेजीपछि डा. अरुण शाहीको अपिलः ‘लोकतान्त्रिक हक खोसियो

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) को आसन्न निर्वाचनमा उपाध्यक्ष पदका उम्मेदवार डा. अरुण शाहीको उम्मेदवारी खारेज भएपछि संघभित्र विवाद चर्किएको छ। डा. शाहीले उम्मेदवारी खारेजीलाई संघको मूल भावना ‘एकता, भातृत्व र सेवा’ माथिको आघात भएको बताएका छन्।

स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने अपेक्षा राखेका डा. शाहीले विभिन्न दाउपेच प्रयोग गरी आफ्नो उम्मेदवारी खारेज गरिएको आरोप लगाएका छन्। उनले पुनर्विचारका लागि निर्वाचन समितिमा निवेदन दिएको भए पनि कुनै औपचारिक जवाफ नआएको गुनासो गरेका छन्।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विधानअनुसार निर्वाचनमा सहभागी गराउन निर्देशन दिएको भए पनि निर्वाचन समितिले अन्तिम नामावलीमा आफ्नो नाम नसमेटेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्। डा. शाहीले यस घटनाले संघभित्रको लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएको बताएका छन्।

डा. शाहीको अपिल

हार्दिक अपिल !

आदरणीय न्यायप्रेमी चिकित्सकज्यूहरू,पत्रकारज्युहरू, शुभेच्छुक र साथीहरू,

यहाँहरुलाई अवगत नै छ- तीन हप्ता अघि मैले आफ्नो उम्मेदवारी घोषणा गर्दा भनेको थिएँ- नेपाल चिकित्सक संघको निर्वाचनलाई एउटा नियमित प्रक्रिया भन्दा माथि राखेर 'एनएमए उत्सव'का रुपमा मनाउँ । नेपालको प्रथम पेसागत संगठन संघको मूलमर्म 'एकता, भातृत्व र सेवा'लाई शिरोपर गरेर अघि बढौं ।

कहिल्यै कुनैपनि निर्वाचनको अभ्यास नगरेको मैले यो निर्वाचनका क्रममा अपेक्षा गरेभन्दा फरक अनुभव हासिल गर्नुपर्‍यो । स्वस्थ प्रतिष्पर्धामा उत्रिनुको साटो विभिन्न दाउपेच गरियो र मेरो उम्मेदवारीबिरुद्ध मुद्दा हालियो। खारेज गरियो । यसले संघमा आएर आम चिकित्सकका मुद्दामा लड्ने मेरो पवित्र भावनामाथि ठेस मात्रै पुर्‍याएन, आफू सदस्य रहेको संस्थामा उम्मेदवार बन्न पाउने संवैधानिक हक समेत खोसियो । साथै संघको मूलमर्म 'एकता, भातृत्व र सेवा'माथि नै प्रहार भयो।

हाम्रो गरिमामय संस्था तथा आस्थाको धरोहर नेपाल चिकित्सक संघको विधान, नियमावली माथि मात्रै होइन, मूलमर्ममाथि नै प्रहार भइरहँदा यसको आजीवन सदस्यका रुपमा चुप लागेर बस्न सकिनँ। त्यसैले मेरो उम्मेदवारी खारेज भएको भोलिपल्टै पुनर्विचारका लागि संघको निर्वाचन समिति समक्ष निवेदन दिएको थिएँ । समितिले मेरो निवेदनमाथि छलफल गर्नु परको कुरा प्राप्त भएको जानकारी गराउनु समेत आवश्यक ठानेन । त्यसपछि मलाई लाग्यो- मेरो उम्मेदवारी खारेजी तत्कालीन परिस्थितिको उपज होइन, चरणबद्ध योजनाको नतिजा हो ।

संस्थालाई त्यसको विधान र नियमावलीअनुसार अघि बढाउनका लागि आवश्यक पहल गर्ने क्रममा संस्था दर्ता भएको ठाउँ जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा पुगें। संस्थाको विधान तथा नियमावली पास गर्ने मात्रै होइन, त्यो अनुसार चले/नचलेको नियमन गर्ने नेपाल सरकारको आधिकारिक निकाय जिल्ला प्रशासन कार्यकालयले नियमसंगत अघि बढ्न सचेत गराएको थियाे। विधान र नियमावलीमा भएको व्यवस्था अनुरुपमा समयसीमाभित्र सक्कल वारेस तथा मञ्जुरीनामा ल्याएर उम्मेदवारी दर्ता गराएका उम्मेदवारलाई निर्वाचनमा सहभागी गर्न/गराउन निर्देशन दिएको थियाे।

तर, त्यसलाई समेत नजरअन्दाज गरेर निर्वाचन समिति अघि बढेकाे छ र अन्तिम नामावलीमा मेराे नाम नसमेटेर सूचना जारी गरेकाे छ । प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्नु लोकतान्त्रिक प्रक्रिया हो । निर्वाचन हामी चिकित्सक माझ नै हुन लागेको हो । जसले जिते पनि हामी चिकित्सकले नै जित्नेछौं भन्ने मलाई लागेकाे थियो । संघको मूलमर्म 'एकता, भातृत्व र सेवा'मा आँच नआउने गरी स्वस्थ प्रतिष्पर्धा हुने कुरामा विश्वस्त थिएँ । मुद्दा होइन, मुद्दामा लड्ने कुरामा विश्वास थियाे। तर, कुनै मुद्दा र एजेन्डा नभएको संस्थापन पक्षकाे उक्साहटमा निर्वाचन समितिले गरेकाे निर्णयले मेराे विश्वास खण्डित भएकाे छ । हामीले बाेकेका मुद्दा स्थापित गर्न न्यायकाे ढाेका ढकढक्याउनु पर्ने अवस्था आएको छ । 'टिम मंगल'काे एजेन्डा, स्प्रिट र लाेकप्रियतााट संस्थापन पक्ष त्रसित भएको यी तमाम षड्यन्त्रका तानाबानाले पुष्टि गर्छ ।

न्याय र चिकित्सा क्षेत्रकाे हितका निम्ति सम्पूर्णलाई `टिम मंगल´लाई साथ, सहयाेग र मत दिन आह्वान गर्छु । न्याय-नियमका पक्षमा उभिने यहाँहरु सवैमा फेरि पनि आभार प्रकट गर्न चाहन्छु । धन्यवाद ।

डा अरुण शाही, उम्मेदवार

उपाध्यक्ष (बागमती प्रदेश संयोजक), टिम मंगल

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट