नेपाल हेल्थ न्युज, काठमाडौं । जाडोयाम सुरु भएसँगै चिसोबाट जोगिन अधिकांश घर तथा कार्यालयमा हिटरको प्रयोग बढ्ने गर्छ। शरीर र कोठालाई न्यानो बनाउने हिटरले तत्काल राहत त दिन्छ, तर सावधानी नअपनाउँदा यही हिटर ज्यानकै लागि जोखिमपूर्ण बन्न सक्ने तथ्य धेरैलाई थाहा नहुन सक्छ।
विशेषगरी बन्द कोठामा लामो समयसम्म हिटर बालेर राख्दा त्यसबाट निस्कने कार्बन मोनोअक्साइड ग्यास अत्यन्त खतरनाक हुन्छ। यो ग्यास गन्धविहीन र रंगविहीन हुने भएकाले थाहा नै नपाई शरीरमा अक्सिजनको मात्रा घटाउँदै लैजान्छ। अक्सिजनको कमी हुँदा टाउको दुख्ने, चक्कर लाग्ने र गम्भीर अवस्थामा ज्यानसमेत जान सक्ने खतरा रहन्छ। त्यसैले हिटर प्रयोग गर्दा कोठाको ढोका–झ्याल खुला राख्नु अत्यावश्यक हुन्छ।
श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिका लागि हिटर झनै जोखिमपूर्ण मानिन्छ। हिटरबाट निस्कने तातो हावामा अक्सिजनको मात्रा कम हुने भएकाले दम, अस्थमा लगायतका रोगीलाई सास फेर्न गाह्रो हुन सक्छ। चिकित्सकहरूका अनुसार यस्ता व्यक्तिले सकेसम्म हिटरको सिधा हावा नलाग्ने व्यवस्था गर्नुपर्छ।
हिटरको असर छालामा पनि पर्छ। लामो समयसम्म हिटर ताप्दा छाला अत्यधिक सुक्खा हुने, चिलाउने, रातो दाग देखिने समस्या देखिन्छ। छालाको प्राकृतिक नमी हराउँदा छाला फुट्ने र चाउरी पर्ने सम्भावना बढ्छ। साथै, लगातार हिटरको प्रकाशमा बस्दा आँखामा समेत असर पर्न सक्ने विज्ञहरू बताउँछन्।
हिटर प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी
हिटर सुरक्षित रूपमा प्रयोग गर्न केही आधारभूत कुरामा ध्यान दिनु जरुरी छ। ग्यासबाट चल्ने हिटरको वरिपरि कागज, कपडा, ब्लाङ्केट, दाउरा जस्ता छिट्टै जल्ने सामग्री राख्नु हुँदैन। हिटरलाई धेरै ओहोरदोहोर हुने स्थानमा नराखी कडा र समथर सतहमा राख्नुपर्छ। साना बच्चाको पहुँचबाट टाढा राख्नु अझै महत्वपूर्ण हुन्छ।
हिटर लामो समयसम्म लगातार बालेर राख्नु उपयुक्त हुँदैन। समय–समयमा बन्द गर्ने बानी बसाल्नुपर्छ र सुत्नुअघि अनिवार्य रूपमा निभाउनुपर्छ। यसले आगलागी तथा अन्य दुर्घटनाको जोखिम घटाउँछ।
भान्साकोठा वा पानी प्रयोग हुने स्थानमा हिटर राख्नु खतरनाक हुन सक्छ। विद्युतीय हिटरमा पानीको छिटा पर्दा आगलागी वा करेन्ट लाग्ने सम्भावना हुन्छ। त्यसैले यस्ता ठाउँमा हिटर प्रयोग नगर्न सुझाव दिइन्छ।
हिटर चलाउँदा कोठामा पानी भरिएको भाँडो राख्दा हावामा आर्द्रता कायम रहन्छ र अत्यधिक सुक्खापन कम हुन्छ। साथै, हिटर ताप्नुअघि छालामा मोइस्चराइजर प्रयोग गर्दा छालालाई सुक्खा हुनबाट जोगाउन सकिन्छ।
हिटर जाडोयामको उपयोगी साधन हो, तर यसको सुरक्षित प्रयोग अत्यन्त आवश्यक छ। सानो लापरवाहीले ठूलो दुर्घटना निम्त्याउन सक्छ। त्यसैले न्यानोपनसँगै सुरक्षा पनि सुनिश्चित गर्दै हिटरको प्रयोग गर्नु नै बुद्धिमानी हुन्छ।
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
