नेभिगेशन

१८ करोड सरकारी भुक्तानी नआउँदा मुटु अस्पताल आर्थिक दबाबमा

नेपाल हेल्थ न्युज, बुटवल । बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले सरकारबाट पाउनुपर्ने झन्डै १८ करोड रुपैयाँ समयमै नपाएको भन्दै गम्भीर आर्थिक संकटमा परेको जनाएको छ। अस्पतालले तत्काल भुक्तानी नगरे मिर्गौला र मुटुका बिरामीलाई दिइँदै आएको निःशुल्क उपचार सेवा रोक्नुपर्ने अवस्था आएको चेतावनी दिएको छ।

अस्पतालका अनुसार मुटु र मिर्गौला उपचार गरेवापत सरकारबाट २० करोड ३९ लाख रुपैयाँभन्दा बढी रकम प्राप्त हुनुपर्नेमा हालसम्म करिब दुई करोड ५८ लाख रुपैयाँ मात्रै भुक्तानी भएको छ। बाँकी १७ करोड ८१ लाख रुपैयाँ पुस मसान्तसम्म नआए माघ १ गतेदेखि निःशुल्क डायलाइसिस सेवा र मुटु उपचारमा दिइँदै आएको एक लाख रुपैयाँको सुविधा बन्द गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ।

पत्रकार सम्मेलनमा बोल्दै अस्पतालका अध्यक्ष एजाज आलमले सरकारको ढिलासुस्तीका कारण अस्पताल ऋणमा डुब्न थालेको बताए। उनका अनुसार औषधि तथा उपकरण आपूर्ति रोकिँदै गएको छ भने चिकित्सक र कर्मचारीको तलब भुक्तानीमा समेत समस्या देखिन थालेको छ। यसले विपन्न तथा असहाय बिरामीलाई दिइँदै आएको निःशुल्क उपचार कार्यक्रम नै प्रभावित भएको उनको भनाइ छ।

अस्पतालले चालु आर्थिक वर्षमा मात्रै सरकारी विपन्न नागरिक उपचार कार्यक्रमअन्तर्गत १ हजार ३८४ जना मुटुका बिरामीलाई करिब चार करोड ६४ लाख रुपैयाँ बराबरको उपचार र ५५१ जना मिर्गौला बिरामीलाई करिब १३ करोड ९४ लाख रुपैयाँ बराबरको डायलाइसिस सेवा प्रदान गरेको जनाएको छ। यसरी मुटु र मिर्गौला उपचार गरी कुल १८ करोड ५९ लाख रुपैयाँभन्दा बढीको सेवा दिइएको अस्पतालको दाबी छ।

यसका अतिरिक्त अत्यन्त विपन्न बिरामीका लागि करिब एक करोड ४५ लाख रुपैयाँ बराबरको निःशुल्क उपचार गरिएको र संस्थाका एक सम्मानित सदस्यले पाँच जना डायलाइसिस बिरामीलाई औषधि सहयोग गरेको पनि अस्पतालले जानकारी दिएको छ।

अस्पतालका अनुसार आर्थिक वर्ष २०७९/८० मा स्वास्थ्य बीमाबाट स्वास्थ्य सेवा विभागमा स्थानान्तरण हुँदा बाँकी रहेको छ करोडभन्दा बढी रकम अझै प्राप्त हुन सकेको छैन। साथै, विगतका केही अवधिमा डायलाइसिस सेवाको भुक्तानी गर्दा करिब ८५ लाख रुपैयाँ कम प्राप्त भएको गुनासो पनि अस्पतालले गरेको छ। सो विषयमा बीमा बोर्ड र स्वास्थ्य विभागबीच एक–अर्कालाई जिम्मा लगाउने गैरजिम्मेवार जवाफ आएको अध्यक्ष आलमले बताए।

हाल अस्पतालबाट बुटवल, लमही, तानसेन, वालिङ र कपिलवस्तु क्षेत्रका गरी ५५१ जना मिर्गौला बिरामीले नियमित निःशुल्क डायलाइसिस सेवा लिँदै आएका छन्। स्थापना भएको १२ वर्षमा यस अस्पतालले मुटु, मिर्गौला र सामान्य रोगका गरी पाँच लाखभन्दा बढी बिरामीको उपचार गरिसकेको जनाएको छ।

२०७० सालदेखि सेवा सुरु गरेको यस अस्पतालले क्याथ ल्याबमार्फत हजारौँ बिरामीलाई मुटु सम्बन्धी विशेष सेवा प्रदान गरिसकेको छ भने २०७२ सालदेखि सुरु गरिएको मिर्गौला उपचार सेवाबाट लाखौँ पटक डायलाइसिस सेवा दिइएको छ।

हाल अस्पतालले बुटवलसहित दाङ, पाल्पा, स्याङ्जा र कपिलवस्तुमा डायलाइसिस केन्द्र सञ्चालन गर्दै आएको छ। रुपन्देही उद्योग संघको संरक्षणमा सञ्चालन भइरहेको यस अस्पताललाई विभिन्न सामाजिक संस्था र दातृ निकायबाट समेत सहयोग प्राप्त हुँदै आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट