नेपाल हेल्थ न्युज, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बिपीकेआईएचएस) धरानमा लामो समयदेखि बन्द रहेको फार्मेसी सेवा पुनः सञ्चालनमा आएको छ। करिब पाँच महिनाअघि ठूलो परिमाणमा औषधि अनियमितता देखिएपछि बन्द गरिएको फार्मेसी शुक्रबारदेखि पुनः सञ्चालनमा आएको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा करिब ५ करोड ५० लाख रुपैयाँ बराबरको औषधिमा अनियमितता देखिएपछि फार्मेसी अस्थायी रूपमा बन्द गरिएको थियो। प्रतिष्ठानका प्रवक्ता प्रा.डा. अञ्जु प्रधानका अनुसार बिरामीलाई गुणस्तरीय औषधि सुलभ मूल्यमा उपलब्ध गराउने उद्देश्यसहित फार्मेसी पुनः सञ्चालन गरिएको हो।
फार्मेसीको उद्घाटन प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठ, शिक्षाध्यक्ष प्रा.डा. संजीव कुमार शर्मा, रजिष्ट्रार प्रा.डा. सूर्य प्रसाद संग्रौला र अस्पताल निर्देशक डा. जगत नारायण प्रसादले संयुक्त रूपमा गरेका हुन्।
प्रतिष्ठानले सञ्चालनमा ल्याएको फार्मेसीमार्फत नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध सेवाग्राहीले पनि औषधि प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ।
औषधि अनियमिततापछि बन्द गरिएको थियो फार्मेसी
प्रतिष्ठानका अनुसार फार्मेसी सञ्चालनको जिम्मा केटीएम सेक्युरिटी सर्भिसेज प्रालिलाई ठेक्कामा दिइएको थियो। कम्पनीले पटक–पटक पत्राचार गर्दा पनि आफ्नो प्रतिनिधि उपस्थित नगराएको कारण भौतिक परीक्षण हुन नसकेको भन्दै प्रतिष्ठानले नियमित भुक्तानी रोक्का गरेको थियो।
मासिक तलब नपाएको भन्दै कम्पनीमार्फत कार्यरत कर्मचारीले गत साउन १८ गतेदेखि आन्दोलन सुरु गरेपछि फार्मेसीमा औषधि बिक्री वितरण पूर्ण रूपमा अवरुद्ध भएको थियो।
पछि प्रतिष्ठानले वैकल्पिक व्यवस्था गर्दै साउन २० गते फार्मेसीको स्टकको भौतिक परीक्षण गर्दा तथ्यहरू अस्वाभाविक देखिएपछि हाडजोर्नी विभागका एडिसनल प्रोफेसर डा. विष्णु पोखरेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको थियो।
प्रारम्भिक अनुसन्धानमा के–के भेटियो ?
छानबिन समितिको प्रारम्भिक प्रतिवेदन अनुसार:
- ५० लाख रुपैयाँ बराबरको औषधि स्टकमा नदेखिएको
- ३६ लाख रुपैयाँ नगद हिसाब नमिलेको
- ४ लाख रुपैयाँ बराबरको बिक्री गडबडी
- १४ लाख रुपैयाँभन्दा बढी मूल्यका म्याद गुज्रिएका औषधि फेला परेको
समितिलाई २५ दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइए पनि हालसम्म छानबिन जारी रहेको प्रवक्ता प्रधानले जानकारी दिइन्। उनका अनुसार अन्तिम प्रतिवेदन आएपछि मात्र दोषी निर्धारण र आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ।
फार्मेसी पुनः सञ्चालनसँगै बिरामीले बाहिरका मेडिकलबाट महँगो मूल्यमा औषधि किन्नुपर्ने समस्या अब कम हुने अपेक्षा गरिएको छ। प्रतिष्ठानको फार्मेसीमा औषधि बाहिरी बजारभन्दा सस्तो मूल्यमा उपलब्ध हुने भएकाले बिरामीको आर्थिक भार घट्ने प्रवक्ता प्रधानले बताइन्।
साथै, स्वास्थ्य बिमा अन्तर्गतका बिरामीले पनि यहीँबाट औषधि पाउने व्यवस्था गरिएको छ। प्रतिष्ठानले फार्मेसीमार्फत औषधि वितरण प्रक्रिया थप पारदर्शी, किफायती र सहज बनाउने लक्ष्य लिएको जनाएको छ।
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
