नेपाल हेल्थ न्युज, काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले नरदेवीस्थित आयुर्वेद चिकित्सालयलाई देशकै केन्द्रीय आयुर्वेद अस्पतालको रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
आज चिकित्सालयको स्थलगत अवलोकनपछि मन्त्री गौतमले यो संस्थालाई देशभरका आयुर्वेद स्वास्थ्य केन्द्रहरूको प्रमुख रिफर केन्द्रका रूपमा विस्तार गर्नुपर्ने बताउनुभयो। आयुर्वेद उपचारलाई अझ प्रभावकारी, गुणस्तरीय र जनमैत्री बनाउने दिशामा सरकार सक्रिय रहेको उहाँको भनाइ थियो।
मन्त्री गौतमले आयुर्वेद उपचारसँगै योग, ध्यान तथा स्वस्थ जीवनशैलीलाई जोड्नुपर्नेमा जोड दिनुभयो। आहारविहार र सकारात्मक व्यवहारबारे जनचेतना फैलाउन आवश्यक रहेको उल्लेख गर्दै उहाँले यसले दीर्घकालीन स्वास्थ्य सुधारमा योगदान पुर्याउने बताउनुभयो।
स्वास्थ्य बिमा कार्यक्रमलाई समयानुकूल परिमार्जन गर्नुपर्ने बताउँदै मन्त्री गौतमले भविष्यमा आयुर्वेद उपचारलाई पनि स्वास्थ्य बिमाको दायराभित्र ल्याउने प्रयास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सो अवसरमा चिकित्सालयका निर्देशक डा. वासुदेव उपाध्यायले अस्पतालको सेवा प्रवाह, उपलब्ध जनशक्ति तथा चुनौतीका विषयमा जानकारी गराउनुभएको थियो। विसं १९७४ मा स्थापना भएको उक्त आयुर्वेद अस्पताल हाल १०० शय्याबाट सेवा दिइरहेको छ।
अस्पतालमा २४सै घण्टा नर्सिङ सेवा, बिरामी परीक्षण, निःशुल्क औषधि वितरणका साथै विशेषज्ञ आयुर्वेद र वैकल्पिक उपचार सेवा प्रदान हुँदै आएको छ।
आज राष्ट्रिय योग दिवस मनाइँदै
बिहीबार, माघ १, २०८२
गंगालाल हृदय केन्द्रमा बीमामार्फत उपचार बन्द
बिहीबार, माघ १, २०८२
बीपी स्मृति अस्पताल र उज्बेकिस्तानको विश्व विद्यालयबीच सम्झौता
बुधबार, पुस ३०, २०८२

