नेभिगेशन

पोलियो शङ्कास्पद बिरामीको खोजतलासमा नेपाल दक्षिण–पूर्वी एसियामै अग्रस्थानमा

नेपाल हेल्थ न्युज, काठमाडौं । पोलियो भाइरसको सम्भावित जोखिम पहिचान गर्न गरिएको निगरानी प्रणालीमा नेपालले उल्लेखनीय सफलता हासिल गरेको छ । सन् २०२५ मा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एसिया क्षेत्रअन्तर्गत रहेका १० देशमध्ये नेपाल पोलियो शङ्कास्पद बिरामी पहिचान गर्ने कार्यमा अग्रस्थानमा परेको छ ।

डब्लुएचओ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सहकार्यमा देशभर १५ वर्ष मुनिका बालबालिकामा गरिएको निगरानी कार्यक्रममा नेपालले निर्धारित मापदण्डभन्दा धेरै शङ्कास्पद केस पहिचान गरेको हो । पहिचान गरिएका नमुनाको परीक्षण थाइल्याण्डमा गरिएको भए पनि अहिलेसम्म पोलियो भाइरसको सङ्क्रमण पुष्टि भएको छैन ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार नेपालमा प्रति एक लाख जनसंख्यामा औसत ७.१ जना पोलियो शङ्कास्पद बिरामी भेटिएका छन् । हालसम्म देशभर ५७९ जना शङ्कास्पद बिरामी फेला परेका छन् भने अझै ४० जनाको प्रयोगशाला परीक्षण हुन बाँकी छ ।

डब्लुएचओको मापदण्ड अनुसार प्रति एक लाखमा कम्तीमा दुई जना शङ्कास्पद बिरामी पहिचान हुनुपर्ने भए पनि नेपालले यो लक्ष्य धेरै अघि बढाएर उच्चस्तरीय निगरानी क्षमता देखाएको डा. गौतमले बताउनुभयो । उहाँका अनुसार शङ्कास्पद बिरामी समयमै पहिचान गर्न सकिएमा पोलियोको सम्भावित जोखिम नियन्त्रण गर्न सजिलो हुन्छ ।

नेपाल सन् २०१४ मै पोलियोमुक्त राष्ट्र घोषणा भइसकेको हो । देशमा अन्तिम पटक सन् २०१० मा रौतहट जिल्लामा एक जनामा पोलियो पुष्टि भएको थियो । पछिल्लो निगरानी विवरणअनुसार हुम्ला र रोल्पामा प्रति एक लाखमा १ देखि १.९ जनासम्म शङ्कास्पद बिरामी भेटिएका छन् भने अन्य अधिकांश जिल्लामा यो संख्या दुईभन्दा माथि रहेको छ ।

दक्षिण–पूर्वी एसिया क्षेत्रका भारत, बङ्गलादेश, भुटान, दक्षिण कोरिया, माल्दिभ्स, म्यानमार, श्रीलङ्का, थाइल्याण्ड र टिमोर–लेष्टेलाई नेपालले शङ्कास्पद पोलियो केस पहिचानको दरमा पछाडि पारेको छ । नेपालपछि भुटान (५.३२) र भारत (५.१२) प्रति एक लाख जनसंख्यामा शङ्कास्पद बिरामी फेला पार्ने देश बनेका छन् ।बङ्गलादेशले २.८० जना, दक्षिण कोरिया २.३८ जना, म्यानमारले २.५१ जना शङ्कास्पद बिरामीे भेटिएका भेटाएका छन् ।

सन् २०२४ मा नेपालमा प्रति एक लाखमा ४.५ जना शङ्कास्पद बिरामी भेटिएका थिए । पोलियो उन्मूलन अभियानलाई थप मजबुत बनाउन गत वर्ष पाँचदेखि नौ वर्ष उमेर समूहका बालबालिकालाई विशेष खोप अभियान सञ्चालन गरिएको थियो । 

नेपालमा नियमित खोप कार्यक्रम अन्तर्गत जन्मिएको छ हप्ता, १० हप्ता र १४ हप्तामा पोलियोको थोपा खुवाइन्छ । साथै १४ हप्ता र नौ महिनाको उमेरमा पोलियो विरुद्धको सुईमार्फत खोप लगाउने व्यवस्था गरिएको छ । रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट