नेपल हेल्थ न्युज, नेपालगन्ज । बाँके जिल्लाका अन्य क्षेत्रको तुलनामा स्वास्थ्य सेवाको पहुँच सबैभन्दा कम रहेको नरैनापुर गाउँपालिकामा निर्माणाधीन १५ शय्याको पालिकास्तरीय अस्पताल भवन बजेट अभावका कारण अलपत्र परेको छ ।
स्थानीय बासिन्दालाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको अस्पताल भवन निर्माण कार्य अन्तिम चरणमा पुगेर रोकिएको हो । नरैनापुर गाउँपालिका–४ मा निर्माण भइरहेको अस्पताल भवनको भौतिक तथा वित्तीय प्रगति करिब ९० प्रतिशत पूरा भइसकेको भए पनि सङ्घीय सरकारबाट बजेट निकासा नहुँदा बाँकी काम रोकिएको गाउँपालिकाले जनाएको छ ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहका अनुसार करिब १६ करोड ९७ लाख ५१ हजार रुपैयाँको लागतमा अस्पताल भवन निर्माण सुरु गरिएको हो ।
‘भवनको अधिकांश काम सम्पन्न भइसकेको छ, तर अन्तिम चरणको भुक्तानीका लागि बजेट नआउँदा निर्माण रोक्नुपरेको छ, उहाँले भन्नुभयो । बाँकी रकम तत्काल निकासा गर्न सम्बन्धित मन्त्रालयसँग आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।
गाउँपालिकाका लेखा अधिकृत भरत बस्नेतले सङ्घीय सरकारबाट बजेट निकासा नहुँदा निर्माण कम्पनीलाई अन्तिम किस्ताको भुक्तानी गर्न नसकिएको कारण काम ठप्प भएको बताउनुभयो । उहाँका अनुसार बजेट प्राप्त भए लगत्तै अस्पताल सञ्चालनको तयारी पूरा गर्न सकिने अवस्था छ ।
अस्पताल भवन निर्माणका लागि नरैनापुर गाउँपालिका र हनुमान कन्स्ट्रक्सनबीच २०७९ चैत १० गते ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०८० असोज १० गतेभित्र निर्माण सम्पन्न हुनुपर्ने भए पनि सम्झौताको म्याद सकिएको दुई वर्ष बितिसक्दा समेत बजेट अभावकै कारण निर्माण कार्य पूरा हुन सकेको छैन ।
निर्माण कम्पनीका प्रोजेक्ट इन्चार्ज रोजन थापाका अनुसार अन्तिम किस्ताको रकम सुनिश्चित भए एक महिनाभित्रै भवन निर्माण सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गर्न सकिनेछ ।
स्वास्थ्य सेवामा पछाडि परेको नरैनापुर क्षेत्रका नागरिकका लागि यो अस्पताल ठूलो आशा र भरोसाको केन्द्र रहेको गाउँपालिकाले जनाएको छ । तर बजेट अभावका कारण ९० प्रतिशत निर्माण पूरा भएको अस्पताल भवन अलपत्र पर्दा स्थानीयवासी चिन्तित बनेका छन् । अस्पताल समयमै सञ्चालनमा आउन सके स्थानीय बासिन्दाले आधारभूत स्वास्थ्य सेवाका लागि टाढा जानुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ ।
कानुन विपरीत सञ्चालन भएका अस्पतालमा काम नगर्न चिकित्सकलाई निर्देशन
आइतबार, असार ७, २०८३
टिचिङमा असार १५ देखि स्वास्थ्य बिमा पुन सुचारु हुने
आइतबार, असार ७, २०८३
प्रा. डा. चन्दा कार्कीका दुई कृतिमार्फत समाजसेवाको नयाँ अभियान
आइतबार, असार ७, २०८३
अब क्यान्सरको औषधि सहज उपलब्ध हुने
आइतबार, असार ७, २०८३
