नेभिगेशन

बजेट अभावले नरैनापुरको अस्पताल भवन निर्माण कार्य रोकियो

नेपल हेल्थ न्युज, नेपालगन्ज । बाँके जिल्लाका अन्य क्षेत्रको तुलनामा स्वास्थ्य सेवाको पहुँच सबैभन्दा कम रहेको नरैनापुर गाउँपालिकामा निर्माणाधीन १५ शय्याको पालिकास्तरीय अस्पताल भवन बजेट अभावका कारण अलपत्र परेको छ ।

स्थानीय बासिन्दालाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको अस्पताल भवन निर्माण कार्य अन्तिम चरणमा पुगेर रोकिएको हो । नरैनापुर गाउँपालिका–४ मा निर्माण भइरहेको अस्पताल भवनको भौतिक तथा वित्तीय प्रगति करिब ९० प्रतिशत पूरा भइसकेको भए पनि सङ्घीय सरकारबाट बजेट निकासा नहुँदा बाँकी काम रोकिएको गाउँपालिकाले जनाएको छ ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहका अनुसार करिब १६ करोड ९७ लाख ५१ हजार रुपैयाँको लागतमा अस्पताल भवन निर्माण सुरु गरिएको हो ।

‘भवनको अधिकांश काम सम्पन्न भइसकेको छ, तर अन्तिम चरणको भुक्तानीका लागि बजेट नआउँदा निर्माण रोक्नुपरेको छ, उहाँले भन्नुभयो । बाँकी रकम तत्काल निकासा गर्न सम्बन्धित मन्त्रालयसँग आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाका लेखा अधिकृत भरत बस्नेतले सङ्घीय सरकारबाट बजेट निकासा नहुँदा निर्माण कम्पनीलाई अन्तिम किस्ताको भुक्तानी गर्न नसकिएको कारण काम ठप्प भएको बताउनुभयो । उहाँका अनुसार बजेट प्राप्त भए लगत्तै अस्पताल सञ्चालनको तयारी पूरा गर्न सकिने अवस्था छ ।

अस्पताल भवन निर्माणका लागि नरैनापुर गाउँपालिका र हनुमान कन्स्ट्रक्सनबीच २०७९ चैत १० गते ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०८० असोज १० गतेभित्र निर्माण सम्पन्न हुनुपर्ने भए पनि सम्झौताको म्याद सकिएको दुई वर्ष बितिसक्दा समेत बजेट अभावकै कारण निर्माण कार्य पूरा हुन सकेको छैन ।

निर्माण कम्पनीका प्रोजेक्ट इन्चार्ज रोजन थापाका अनुसार अन्तिम किस्ताको रकम सुनिश्चित भए एक महिनाभित्रै भवन निर्माण सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गर्न सकिनेछ ।

स्वास्थ्य सेवामा पछाडि परेको नरैनापुर क्षेत्रका नागरिकका लागि यो अस्पताल ठूलो आशा र भरोसाको केन्द्र रहेको गाउँपालिकाले जनाएको छ । तर बजेट अभावका कारण ९० प्रतिशत निर्माण पूरा भएको अस्पताल भवन अलपत्र पर्दा स्थानीयवासी चिन्तित बनेका छन् । अस्पताल समयमै सञ्चालनमा आउन सके स्थानीय बासिन्दाले आधारभूत स्वास्थ्य सेवाका लागि टाढा जानुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट