नेभिगेशन

मेचीनगरलाई क्षयरोगमुक्त पालिका घोषणा गर्ने लक्ष्य

नेपाल हेल्थ न्युज, झापा । मेचीनगर नगरपालिकाले पछिल्ला तीन वर्षदेखि सञ्चालन गर्दै आएको सक्रिय खोज तथा उपचार अभियानबाट ६६१ जना क्षयरोगका बिरामी पहिचान गरिएको छ। नगर स्वास्थ्य कार्यालयका अनुसार पहिचान भएका बिरामीमध्ये करिब ९४ प्रतिशत उपचारपछि पूर्ण रूपमा निको भएका छन्।

नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ भित्र मेचीनगरलाई क्षयरोगमुक्त पालिका घोषणा गर्ने लक्ष्य लिएको छ। यस लक्ष्यअनुसार घरदैलोमा पुगेर रोग पहिचान र उपचार सेवा प्रदान गरिँदै आएको स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले जानकारी दिनुभयो।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामै ४६ जना नयाँ क्षयरोगी फेला परिसकेका छन्। अघिल्ला वर्षहरूमा हेर्दा आव २०८१/८२ मा २१० जना, २०८०/८१ मा २०५ जना र २०७९/८० मा २०० जना संक्रमित पहिचान भएका थिए।

नगर प्रमुख गोपाल बुढाथोकीले क्षयरोग नियन्त्रण तथा उन्मूलनका लागि नगरपालिकाले सञ्चालन गरिरहेको कार्यक्रम सकारात्मक नतिजा दिइरहेको बताउनुभयो। उहाँका अनुसार समुदायस्तरमै पुगेर गरिएको खोज तथा उपचार अभियान प्रभावकारी देखिएको छ।

स्वास्थ्य शाखा प्रमुख सापकोटाका अनुसार क्षयरोगका बिरामीमध्ये अन्य गम्भीर रोगका कारण उपचारकै क्रममा मृत्यु हुने घटना बाहेक क्षयरोगकै कारण हुने मृत्युदर न्यून छ। जोखिमयुक्त क्षेत्र पहिचान गरी लक्षित रूपमा बिरामी खोजी गर्ने, साथै अत्यन्त विपन्न क्षयरोगीलाई पोषण सहयोग उपलब्ध गराउने कार्यक्रम पनि सञ्चालन भइरहेको छ।

क्षयरोगका बिरामीलाई वर्षेनी एक बोरा चामल, एक क्यारेट अण्डा, एक लिटर खाने तेल, एक केजी बदाम, एक केजी मिश्रित सातु तथा एक केजी मुसुरी दाल प्रदान गरिँदै आएको उहाँले बताउनुभयो। साथै, सूचीकृत बिरामीलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि सेवन गराउने र नियमित फलोअप गर्ने व्यवस्था मिलाइएको छ।

क्षयरोग पहिचानलाई थप प्रभावकारी बनाउन नगरपालिकाले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि प्रयोग गरी छातीको एक्स–रे परीक्षण गर्दै आएको छ। यसका लागि वडा नं. २, ४, ७, १०, १२ र १५ मा विशेष एक्स–रे शिविर सञ्चालन गरिएका छन्।रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट