नेभिगेशन

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप्दा पनि आधा काम मात्रै

नेपाल हेल्थ न्युज, म्याग्दी । धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको काम अझै ६० प्रतिशत मात्र सम्पन्न भएको छ । तेस्रो पटक थप गरिएको म्याद सकिन करिब छ महिना बाँकी रहँदा बाँकी ४० प्रतिशत काम पूरा गर्नु चुनौतीपूर्ण देखिएको छ ।

तीन वर्षअघि नै सम्पन्न हुनुपर्ने पाँच श्यया क्षमताको अस्पताल भवन निर्माण गत साउनदेखि रोकिएको र मध्यहिउँदसम्म पनि काम सुचारु हुन नसकेको धवलागिरी बजार इकाइका अध्यक्ष तेजेन्द्र थापाले जानकारी दिनुभयो । भवन समयमै तयार नहुँदा भौगोलिक रूपमा विकट धवलागिरी क्षेत्रमा अस्पताल सञ्चालन गर्ने योजना प्रभावित भएको उहाँको भनाइ छ ।

धवलागिरी गाउँपालिकासँग विसं २०७८ वैशाखमा निर्माण कम्पनीले चार करोड ७९ लाख ४० हजार ३३४ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार विसं २०७९ असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि पटक–पटक म्याद थपिँदै आएको छ ।

अस्पताल भवन दुई तले १६ कोठे हुने गरी निर्माण भइरहेको छ । आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण तथा उपचार कक्षहरू सहितको भूकम्प प्रतिरोधी र अपाङ्गमैत्री संरचना निर्माण गर्ने योजना छ ।

गाउँपालिकाको पूर्वाधार शाखाका अनुसार हाल मुख्य संरचनाको ढलान सम्पन्न भए पनि फिनिसिङको काम सुरु हुन सकेको छैन । तेस्रो पटक थपिएको म्याद आगामी असार महिनासम्म कायम छ ।

वडा नम्बर ७ का अध्यक्ष अशोक खत्रीले ठेकेदारलाई काममा फर्काउन पटक–पटक ताकेता गरिएको बताउनुभयो । आर्थिक वर्षको अन्त्यतिर मात्र सम्पर्कमा आउने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै उहाँले बैंक धरौटी जफत र कालोसूचीमा राख्ने विषयमा गाउँ कार्यपालिकामा छलफल भइरहेको जानकारी दिनुभयो ।

निर्माण कम्पनीका प्रतिनिधिले बर्खायाम, ढुवानी समस्या र प्रतिकूल मौसमका कारण काम रोकिएको स्वीकार गर्दै केही दिनमै मजदुर र निर्माण सामग्रीसहित काम पुनः सुरु गर्ने प्रतिबद्धता जनाएका छन् । संघीय सरकारले समयमै भुक्तानीका लागि बजेट उपलब्ध गराए चालु आर्थिक वर्षमै भवन निर्माण सम्पन्न गर्ने दाबी पनि गरिएको छ ।

संघीय सरकारको सबै पालिकामा आधारभूत अस्पताल सञ्चालन गर्ने योजना अनुसार विसं २०७७ पुस २२ गते तत्कालीन प्रतिनिधि सभा सदस्यले ताकम अस्पताल भवनको शिलन्यास गर्नुभएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट