नेपाल हेल्थ न्युज, म्याग्दी । धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको काम अझै ६० प्रतिशत मात्र सम्पन्न भएको छ । तेस्रो पटक थप गरिएको म्याद सकिन करिब छ महिना बाँकी रहँदा बाँकी ४० प्रतिशत काम पूरा गर्नु चुनौतीपूर्ण देखिएको छ ।
तीन वर्षअघि नै सम्पन्न हुनुपर्ने पाँच श्यया क्षमताको अस्पताल भवन निर्माण गत साउनदेखि रोकिएको र मध्यहिउँदसम्म पनि काम सुचारु हुन नसकेको धवलागिरी बजार इकाइका अध्यक्ष तेजेन्द्र थापाले जानकारी दिनुभयो । भवन समयमै तयार नहुँदा भौगोलिक रूपमा विकट धवलागिरी क्षेत्रमा अस्पताल सञ्चालन गर्ने योजना प्रभावित भएको उहाँको भनाइ छ ।
धवलागिरी गाउँपालिकासँग विसं २०७८ वैशाखमा निर्माण कम्पनीले चार करोड ७९ लाख ४० हजार ३३४ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार विसं २०७९ असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि पटक–पटक म्याद थपिँदै आएको छ ।
अस्पताल भवन दुई तले १६ कोठे हुने गरी निर्माण भइरहेको छ । आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण तथा उपचार कक्षहरू सहितको भूकम्प प्रतिरोधी र अपाङ्गमैत्री संरचना निर्माण गर्ने योजना छ ।
गाउँपालिकाको पूर्वाधार शाखाका अनुसार हाल मुख्य संरचनाको ढलान सम्पन्न भए पनि फिनिसिङको काम सुरु हुन सकेको छैन । तेस्रो पटक थपिएको म्याद आगामी असार महिनासम्म कायम छ ।
वडा नम्बर ७ का अध्यक्ष अशोक खत्रीले ठेकेदारलाई काममा फर्काउन पटक–पटक ताकेता गरिएको बताउनुभयो । आर्थिक वर्षको अन्त्यतिर मात्र सम्पर्कमा आउने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै उहाँले बैंक धरौटी जफत र कालोसूचीमा राख्ने विषयमा गाउँ कार्यपालिकामा छलफल भइरहेको जानकारी दिनुभयो ।
निर्माण कम्पनीका प्रतिनिधिले बर्खायाम, ढुवानी समस्या र प्रतिकूल मौसमका कारण काम रोकिएको स्वीकार गर्दै केही दिनमै मजदुर र निर्माण सामग्रीसहित काम पुनः सुरु गर्ने प्रतिबद्धता जनाएका छन् । संघीय सरकारले समयमै भुक्तानीका लागि बजेट उपलब्ध गराए चालु आर्थिक वर्षमै भवन निर्माण सम्पन्न गर्ने दाबी पनि गरिएको छ ।
संघीय सरकारको सबै पालिकामा आधारभूत अस्पताल सञ्चालन गर्ने योजना अनुसार विसं २०७७ पुस २२ गते तत्कालीन प्रतिनिधि सभा सदस्यले ताकम अस्पताल भवनको शिलन्यास गर्नुभएको थियो ।
स्वास्थ्य क्षेत्रका विभिन्न पदाधिकारी पदमुक्त, को–को परे ? (नामसहित)
आइतबार, वैशाख २०, २०८३
नर्समाथि दुर्व्यवहारको घटनाप्रति नेपाल नर्सिङ संघको कडा आपत्ति, कारबाहीको माग
आइतबार, वैशाख २०, २०८३
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूचीसहित)
आइतबार, वैशाख २०, २०८३
अध्यादेशपछि १,५९४ पदाधिकारी एकैपटक पदमुक्त, स्वास्थ्य तर्फका को–को परे ?
आइतबार, वैशाख २०, २०८३

