बागलुङ । धौलागिरी प्रादेशिक अस्पतालले नवजात शिशु उपचार सेवामा नयाँ उपलब्धि हासिल गरेको छ। अस्पतालको विशेष नवजात हेरचाह एकाइ (एसएनसियु) लाई स्तरोन्नति गरी नियोनाटल इन्टेन्सिभ केयर एकाइ (एनआइसियु) मा रूपान्तरण गरेपछि गम्भीर अवस्थामा जन्मिएको नवजात शिशुको सफल उपचार गरिएको हो।
स्तरोन्नत एनआइसियुमा उपचार पाएको उक्त शिशु अत्यन्त जटिल अवस्थामा जन्मिएको थियो। म्याग्दी जिल्लाको दुर्गम ग्रामीण भेगबाट अस्पताल ल्याइएकी गर्भवती महिलामा पुस ४ गते कर्ड प्रोल्याप्स र प्लेसेन्टा प्रिभिया जस्ता उच्च जोखिमयुक्त समस्या देखिएको थियो। आमाको ज्यान जोगाउन स्त्रीरोग विशेषज्ञ डा. विजयको नेतृत्वमा आपतकालीन लोअर सेग्मेन्ट सिजेरियन सेक्सन (एलएससियास) गरिएको थियो।
शल्यक्रियामा डा. विजयसँगै डा. अमित, डा. सन्दीप, अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट तथा बालरोग विशेषज्ञ डा. किरण तिवारी, मेडिकल अफिसर डा. सन्दीप केसी तथा अन्य स्वास्थ्यकर्मीको टोली संलग्न थियो।
दिउँसो जन्मिएको शिशु सुरुवातमा कुनै पनि जीवनचिन्ह नदेखिने अवस्थामा थियो। चिकित्सक टोलीले तत्काल पुनर्जीवन प्रक्रिया सुरु गरी निरन्तर सिपिआर गरेपछि करिब ७ मिनेटपछि शिशुको हृदयधड्कन फर्किएको थियो। त्यसपछि इन्टुबेसन गरी शिशुलाई स्तरोन्नत एनआइसियुमा सारिएको थियो।
एनआइसियुमा शिशुलाई भेन्टिलेटरमा राखी एन्टिबायोटिक, आयोनोट्रोप्सलगायत आवश्यक जीवनरक्षक औषधिहरू निःशुल्क प्रदान गरिएको अस्पतालले जनाएको छ। बालरोग विशेषज्ञ डा. किरण तिवारी, डा. यशोदा, डा. कमल, डा. सन्दीप तथा नर्सिङ टोलीको संयुक्त प्रयासमा उपचारलाई निरन्तरता दिइएको थियो।
नर्सिङ सुपरभाइजर मिलन बरुवाल र नर्सिङ अफिसर निमा हिताङको नेतृत्वमा रहेको नर्सिङ टोलीले सघन हेरचाह, भेन्टिलेटर व्यवस्थापन र चौबीसै घण्टा निगरानीमा महत्वपूर्ण भूमिका खेलेको अस्पतालले जनाएको छ। करिब १० दिनसम्मको निरन्तर प्रयासपछि शिशुलाई भेन्टिलेटरबाट हटाउन सफल भइएको छ। हाल शिशु सिपिएपि र अक्सिजन सपोर्टमा रहेको र स्वास्थ्य अवस्था सन्तोषजनक रहेको बताइएको छ।
मेडिकल अफिसर डा. सन्दीप केसीका अनुसार यो सफलता केवल एक उपचारमा सीमित नभई अस्पतालको दीर्घकालीन लक्ष्यतर्फको महत्वपूर्ण कदम हो। ‘हाम्रो उद्देश्य पूर्ण रूपमा सुसज्जित एनआइसियु सञ्चालन गरी जटिल नवजात शिशुहरूको उपचार यहीँ सम्भव बनाउने हो,’ उहाँले भन्नुभयो।
बालरोग विशेषज्ञ तथा अस्पतालका प्रमुख डा. किरण तिवारीले दुर्गम क्षेत्रमा पनि उच्चस्तरीय नवजात सेवा सम्भव भएको यो घटनाले प्रमाणित गरेको बताउनुभयो। उहाँका अनुसार स्त्रीरोग र नवजात विभागबीचको सहकार्य तथा बहु(विषयक टोलीको संयुक्त प्रयासकै कारण शिशुको जीवन रक्षा सम्भव भएको हो।
यसैबीच अस्पताल प्रशासन प्रमुख विपिन पुनले जटिल प्रसव तथा नवजात शिशुको उपचार स्थानीय तहमै सम्भव बनाउँदै बाहिरी रेफरल क्रमशः रोक्ने लक्ष्य लिइएको जानकारी दिनुभयो।
अत्यावश्यक ९८ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्न उद्योगीलाई आग्रह
मंगलबार, फागुन २६, २०८२
नेपालमै क्यान्सर उपचार सम्भव भएको गायक हेमन्त शर्माको अनुभव
मंगलबार, फागुन २६, २०८२
ढोरपाटनमा दादुरा नियन्त्रणका लागि खोप अभियान सुरु
मंगलबार, फागुन २६, २०८२
हिँडेर बर्थिङ सेन्टर जाँदै गरेकी महिलाले बाटोमै जन्माइन् शिशु
मंगलबार, फागुन २६, २०८२
