नेभिगेशन

गर्भमा शिशुको लिङ्ग पहिचान गर्नेलाई १ वर्षसम्म कैद

add final

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्भमा शिशुको लिङ्ग पहिचान गर्ने वा गराउने कार्य कानुनविपरीत भएको स्पष्ट पारेको छ। यस किसिमको कार्य गरेमा एक वर्षसम्म कैद हुने सक्ने कानुनी प्रावधान छ।

मन्त्रालयको मातहत रहेको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जारी गरेको सूचनामा भनिएको छ कि कसैले गर्भमा रहेको भ्रूणको लिङ्ग थाहा पाउने कुनै पनि परीक्षण, प्रविधि वा प्रक्रिया प्रयोग गर्न मिल्दैन। यदि कोही यस नियमको उल्लङ्घन गरे वा गराएमा तीन महिनादेखि एक वर्षसम्मको कारावास हुन सक्ने व्यवस्था गरिएको छ।

मन्त्रालयले सबै नागरिक, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई कानुनको पूर्ण पालना गर्न आग्रह गर्दै भनेको छ कि छोरी र छोराबीच समान व्यवहार गर्दै सुरक्षित मातृत्व र शिशु स्वास्थ्यलाई प्राथमिकता दिन जरुरी छ।

यसैगरी, गर्भमा शिशुको लिङ्ग पहिचान गर्नु चिकित्सकीय आचारसंहिताविपरीत र दण्डनीय अपराध भएको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ। मुलुकी अपराध संहिता २०७४ को दफा १८८ को उपदफा ७ र ८ मा एवम् सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ को दफा १७ अन्तर्गत यसलाई कानुनले दण्डनीय ठान्छ।

मन्त्रालयले लिङ्गमा आधारित विभेद रोक्न सबैको सहयोग आवश्यक रहेको र यस्ता अभ्यासले सामाजिक असन्तुलन निम्त्याउने भएकाले रोक्न सबैलाई आह्वान गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट