नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले चिकित्सकहरूलाई आवश्यकता नपरेसम्म न्युट्रास्युटिकल्स औषधि सिफारिस नगर्न कडाइका साथ निर्देशन दिनुभएको छ। स्वास्थ्य मन्त्रालयद्वारा आयोजित वित्तीय व्यवस्थापनसम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री गौतमले अनावश्यक औषधि लेख्ने प्रवृत्तिका कारण बिरामीहरू आर्थिक रूपमा मारमा परिरहेको बताउनुभयो।
उहाँका अनुसार पछिल्लो समय स्वास्थ्य बीमाअन्तर्गत नपर्ने न्युट्रास्युटिकल्स चिकित्सकले बढी लेखिदिँदा बिरामीले औषधि बीमामा नसमेटिएको गुनासो गर्ने गरेका छन्। ‘बीमामा नपर्ने औषधि लेखिँदा बिरामीले आफैं खर्च गर्नुपर्छ, जसले आर्थिक भार बढाउँछ,’ मन्त्री गौतमले भन्नुभयो।
कार्यक्रममा मन्त्री गौतमले चिकित्सकहरूलाई प्रश्न गर्दै भन्नुभयो, ‘न्युट्रास्युटिकल्स नै लेख्नुपर्ने कुनै कानुनी व्यवस्था छ ?’ सरकारको आग्रहपछि पनि केही चिकित्सक संघ–संस्थाले यसलाई आफ्नो अधिकारको विषय बनाउने गरेको उहाँले उल्लेख गर्नुभयो।
उहाँले निजी अस्पतालमा आर्थिक रूपमा सक्षम बिरामीका लागि फरक अभ्यास हुन सक्ने भए पनि सरकारी अस्पतालमा उपचार लिन आउने सर्वसाधारणका हकमा यस्तो प्रवृत्ति अनुचित हुने स्पष्ट पार्नुभयो। ‘सामान्य क्याल्सियमले काम चल्ने अवस्थामा हजारौँ रुपैयाँ पर्ने न्युट्रास्युटिकल्स किन चाहियो ?” भन्दै उहाँले प्रश्न गर्नुभयो।
मन्त्री गौतमले कार्यालय प्रमुखहरूलाई आफ्ना मातहतका चिकित्सकलाई स्पष्ट निर्देशन दिन आग्रह गर्दै निर्देशनको पालना नगरे मन्त्रालयमा जानकारी गराउन समेत चेतावनी दिनुभयो। उहाँले यो विषयलाई गम्भीर रूपमा कार्यान्वयन गरिने र अनावश्यक औषधि लेख्ने प्रवृत्तिमा कडाइ गरिने स्पष्ट सन्देश दिनुभयो।
स्वास्थ्य क्षेत्रमा अनुशासन र बिरामीको हितलाई प्राथमिकतामा राख्दै सरकारले उपचार प्रणालीलाई थप पारदर्शी र किफायती बनाउने लक्ष्य लिएको मन्त्रीको भनाइ छ।
बाँकेमा हात्तीपाइले विरुद्धको १० दिने औषधि सेवन अभियान सुरु
शुक्रबार, माघ ९, २०८२
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल
शुक्रबार, माघ ९, २०८२
सानोठिमी बाल सुधार गृहमा झडप, १३ घाइते
शुक्रबार, माघ ९, २०८२

