नेपाल हेल्थ न्युज, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न तीन स्वास्थ्य संस्थाको सेवा विस्तार तथा सुदृढीकरणका लागि कुल तीन करोड रुपैयाँ बजेट निकासा गर्ने निर्णय गरेको छ।
बिहीबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले दैलेख, सुर्खेत र जुम्लामा रहेका स्वास्थ्य संस्थालाई लक्षित गर्दै सम्बन्धित स्थानीय तहलाई बजेट अख्तियारी दिने निर्णय गरेको हो।
प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहका अनुसार प्रादेशिक अस्पताल नपुगेका सङ्घीय निर्वाचन क्षेत्रमा पर्ने स्वास्थ्य संस्थाको सेवा सुधार गर्न यो कार्यक्रम अघि बढाइएको हो।
निर्णयअनुसार सुर्खेतको सालकोट अस्पतालका लागि पंचपुरी नगरपालिकालाई एक करोड रुपैयाँ, दैलेखको दुल्लु अस्पतालका लागि दुल्लु नगरपालिकालाई एक करोड रुपैयाँ र जुम्लाको कालिका खेतु प्राथमिक स्वास्थ्य चौकीका लागि हिमा गाउँपालिकालाई एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
यसैगरी मन्त्रिपरिषद् बैठकले प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना अन्तर्गत प्रादेशिक आयोजना व्यवस्थापन इकाइ र ग्रामीण सडक सञ्जाल सुधार आयोजना, सुर्खेतका लागि अस्थायी दरबन्दी संरचना स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै दैलेखको इलाका प्रहरी कार्यालय राकम कर्णालीको अधुरो भवन निर्माण सम्पन्न गर्न ६० लाख रुपैयाँ बजेट उपलब्ध गराउन संघीय सरकारअन्तर्गत गृह मन्त्रालय र अर्थ मन्त्रालयसँग स्वीकृति माग्ने निर्णय गरिएको प्रवक्ता शाहले जानकारी दिएका छन्।
अत्यावश्यक ९८ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्न उद्योगीलाई आग्रह
मंगलबार, फागुन २६, २०८२
नेपालमै क्यान्सर उपचार सम्भव भएको गायक हेमन्त शर्माको अनुभव
मंगलबार, फागुन २६, २०८२
ढोरपाटनमा दादुरा नियन्त्रणका लागि खोप अभियान सुरु
मंगलबार, फागुन २६, २०८२
हिँडेर बर्थिङ सेन्टर जाँदै गरेकी महिलाले बाटोमै जन्माइन् शिशु
मंगलबार, फागुन २६, २०८२
