नेभिगेशन

सचिन र भावना अब एनआरएनएको पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढ्न पाउने

नेपाल हेल्थ न्युज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र थाइल्यान्डस्थित एसियन इन्टरनेशनल युनिभर्सिटीले आर्थिक रूपमा कठिन परिस्थितिमा रहेका तर शैक्षिक रूपमा सक्षम दुई नेपाली विद्यार्थीलाई निःशुल्क एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने समझदारी औपचारिक रूपमा घोषणा गरेको छ।

बिहीवार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा, गत मार्चमा थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय युवा तथा पीएनओ सम्मेलनमा तय भएको सहकार्यलाई कार्यान्वयन गर्दै योग्य नेपाली विद्यार्थीहरूको लागि यो छात्रवृत्ति घोषणा गरिएको हो।

यस योजना अन्तर्गत, चिकित्सा शिक्षा आयोगको साझा प्रवेश परीक्षा (सिईई) २०८२ मा उत्तीर्ण भएका र शैक्षिक रूपमा सक्षम भए पनि आर्थिक रूपमा कमजोर पृष्ठभूमिका विद्यार्थीहरूलाई लक्षित गरी, एनआरएनए र एसियन इन्टरनेशनल युनिभर्सिटीले एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने दुई विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने निर्णय गरिएको छ।

छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमा लुम्बिनी प्रदेश, कपिलवस्तु, शुद्धोदन गाउँपालिका वडा नं. ६ निवासी २१ वर्षीय सचिन कुमार प्रजापति र बागमती प्रदेश, चितवन, भरतपुर महानगरपालिका वडा नं. १८ निवासी २१ वर्षीया भावना रेग्मी रहेका छन्।

छात्रवृत्ति अन्तर्गत शैक्षिक शुल्क, होस्टल, भोजन, बीमा, नेपालबाट उज्बेकिस्तान यात्रा खर्च र अध्ययन पूरा भएपछि नेपाल फर्किनको लागि हवाईजहाज भाडा (एक पटक) विश्वविद्यालयले व्यहोर्ने व्यवस्था गरिएको छ। तर, अध्ययन अवधिमा कुनै पनि परीक्षामा असफल भएमा छात्रवृत्ति स्वतः रद्द हुनेछ र त्यसपछि सम्पूर्ण खर्च विद्यार्थीले आफैं व्यहोर्नुपर्नेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट