नेपाल हेल्थ न्युज, काठमाडौं । आज देशभर राष्ट्रिय गिँजा स्वास्थ्य दिवस मनाइएको छ । गिँजा रोगसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जनवरी ८ मा यो दिवस मनाउने गरिएको छ ।
सन् २०१४ मा स्थापना भएको नेप्लिज सोसाइटी अफ पेरियोडेन्टोलोजी एण्ड ओरल इम्प्लान्टोलोजीको पहलमा राजधानीदेखि प्रदेशसम्म विभिन्न अस्पताल, मेडिकल कलेज र दन्त क्लिनिकहरूमा सचेतनामूलक कार्यक्रम आयोजना गरिएका छन् ।
राजधानीको पिपल्स डेन्टल कलेजको गिँजा विभागमा आयोजित कार्यक्रममा वरिष्ठ पेरियोडोन्टिस्ट तथा नेप्लिज सोसाइटी अफ पेरियोडेन्टोलोजी एण्ड ओरल इम्प्लान्टोलोजी की अध्यक्ष प्रा. डा. अमीना प्रधानाङ्गले गिँजासम्बन्धी समस्या नेपालमा मौन तर तीव्र रूपमा बढिरहेको बताउनुभयो ।
प्रा. डा. प्रधानाङ्ग भन्नुहुन्छ—‘गिँजाको रोग सुरुवाती अवस्थामा धेरै समस्या देखिँदैन । गिँजा अलिकति सुन्निने, हल्का रगत आउने, सास गन्हाउने जस्ता लक्षणलाई सामान्य ठानिन्छ । यही लापरबाही नै पछि दाँत हल्लिने, हड्डी खिइने र दाँत नै गुम्ने कारण बन्छ ।’
गिँजाको रोगः सानो समस्या कि गम्भीर चेतावनी ?
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार मुख स्वास्थ्य (ओरल हेल्थ) सम्पूर्ण स्वास्थ्यको आधार हो । डव्लुएचओले गिँजा रोग (पेरियोडोन्टल डिजिज) लाई विश्वव्यापी रूपमा सबैभन्दा धेरै देखिने दीर्घकालीन रोगमध्ये एक मानेको छ । विश्वका करिब ५० प्रतिशतभन्दा बढी वयस्कहरू कुनै न कुनै रूपमा गिँजाको समस्याबाट प्रभावित छन् ।
नेपालमा भने दाँत दुखेपछि मात्र डाक्टरकहाँ जाने प्रवृत्ति अझै कायम छ । नियमित दन्त परीक्षणको संस्कार नहुँदा गिँजाको रोग धेरैजसो ढिलो मात्र पत्ता लाग्ने गरेको विशेषज्ञहरू बताउँछन् ।
गिँजाको रोग कसरी सुरु हुन्छ ?
गिँजाको मुख्य समस्या दन्तलेउ (प्लाक) बाट सुरु हुन्छ । दन्तलेउ भनेको दाँतको सतहमा जम्ने ब्याक्टेरियाको तह हो जसमा लाखौँ सूक्ष्म जीवाणु हुन्छन् । प्रा. डा. प्रधानाङ्गका अनुसार प्लाक एकुमुलेसन भएपछि गिँजा सुन्निन्छ । गिँजाभित्रका रक्तनली फुल्छन्, कमजोर हुन्छन् र सजिलै रगत आउन थाल्छ ।’
सुरुवाती लक्षण
- दाँत माझ्दा गिँजाबाट रगत आउने
- गिँजा सुन्निने (सूजन)
- सास गन्हाउने
- गिँजा चिलाउने वा पोल्ने अनुभूति
- हल्का दुखाइ
यी लक्षणलाई बेवास्ता गरेमा रोग जिन्जिभाइटिसबाट पेरियोडोन्टाइटिसमा परिणत हुन्छ ।
लेट स्टेजमा के हुन्छ ?
यदि समयमै उपचार नगरिएमामा दाँत समाउने हड्डी खिइँदै जाने, दाँत हल्लिन थाल्ने, गिँजा र दाँत दुवै दुख्ने र अन्ततः दाँत निकाल्नुपर्ने अवस्था आउँछ ।
डा. प्रधानाङ्ग भन्नुहुन्छ—‘धेरैजसो बिरामी हल्लिएको दाँत लिएर आउनुहुन्छ । त्यो बेला दाँत बचाउन निकै गाह्रो भइसकेको हुन्छ ।’
बिरामी अस्पताल कुन अवस्थामा पुग्छन् ?
नेपालको सन्दर्भमा थोरै बिरामी मात्र सुरुवाती चरणमै आउँछन् । धेरैजसो गिजाबाट रगत धेरै आएपछि, दुखाइ बढेपछि वा दाँत हल्लिएपछि मात्र अस्पताल पुग्ने गर्छन् । सुरुवाती चरणका बिरामीलाई समस्या गम्भीर छैन भनेर बुझाउन समेत कठिन हुने प्रा.डा. प्रधानाङ्गको अनुभव छ ।
गिँजाबाट रगत आउनुः केवल दन्त समस्या मात्र हो ?
गिँजाबाट रगत आउनु सधैं सामान्य कुरा होइन । प्ल्याक मुख्य कारण भए पनि यो अन्य गम्भीर रोगको संकेत पनि हुनसक्छ । अन्य सम्भावित कारणहरूमा मुटु रोग र त्यसका औषधि, मधुमेह (डायबेटिज), ल्युकेमिया क्यान्सर, हर्मोनल परिवर्तन (गर्भावस्था) ।
डा. प्रधानाङ्ग स्पष्ट पार्दै भन्नुहुन्छ—‘कोही बिरामी रगत आयो भनेर आए भन्दैमा सिधै स्केलिङ गर्न मिल्दैन । मेडिकल हिस्ट्री नलिई उपचार गर्नु जोखिमपूर्ण हुन्छ ।’
गिँजा र दीर्घ रोगबीचको सम्बन्ध
डब्लुएचओका अध्ययनहरूले गिँजाको दीर्घ सूजन (क्रोनिक इन्फ्लामेसन) शरीरका अन्य अंगसँग गहिरो रूपमा जोडिएको देखाएका छन् ।

गिँजा–मधुमेह सम्बन्ध
मधुमेह भएका बिरामीमा गिँजाको रोग धेरै देखिन्छ । गिँजाको रोगले ब्लड सुगर नियन्त्रण बिगार्छ । पेरियोडोन्टाइटिसलाई मधुमेहको छैटौँ जटिलता मानिन्छ ।
गिँजा र मुटु रोग
गिँजाको संक्रमणले रगतमार्फत ब्याक्टेरिया मुटुसम्म पुग्न सक्छ । मुटुको नलीमा सूजन बढ्न सक्छ । हृदयघातको जोखिम बढ्न सक्छ
गर्भावस्था र गिँजा
समयभन्दा अगाडि बच्चा जन्मिने , कम तौलका शिशु, गर्भकालीन प्रेसर बढ्ने हुनसक्छ ।
दाँत माझ्ने गलत तरिकाः अदृश्य शत्रु
नेपालमा धेरैले दाँत माझ्ने तरिका नजानेरै गिँजाको समस्या भोगिरहेका छन् । प्रा.डा. प्रधानाङ्ग भन्नुहुन्छ—‘जोरले ब्रस गर्नु दाँत सफा गर्नुहुँदैन ।
- गलत अभ्यास
- धेरै जोर लगाएर ब्रस गर्नु
- गलत ब्रस प्रयोग गर्नु
- दिनमा एक पटक मात्र ब्रस गर्नु
- जिब्रो सफा नगर्नु
यसले प्ल्याक हट्नुको सट्टा गिच्जा झन् क्षतिग्रस्त हुन्छ ।
अटोमेटिक ब्लिडिङ किन हुन्छ ?
कहिलेकाहीँ बिना दुखाइ, बिना छोए पनि गिाजाबाट रगत आउँछ । यसको कारणमा
- दीर्घकालीन जिन्जिभाइटिस
- पेरियोडोन्टाइटिस
- सिस्टेमिक रोग
- औषधिको साइड इफेक्ट
- सानो घाउ
सिधै मेडिकलबाट औषधि खानु कति सुरक्षित ?
नेपालमा डाक्टर नदेखाई सिधै मेडिकलबाट औषधि खाने प्रवृत्ति व्यापक छ । तर गिँजाको हकमा यो खतरनाक हुनसक्छ ।
- वास्तविक कारण लुकेको रहन सक्छ
- क्यान्सर, ल्युकेमिया जस्ता रोग छुट्न सक्छन्
- समस्या झन् जटिल बन्छ
लापरबाहीको मूल्य कति महँगो पर्छ ?
गिँजाबाट रगत आए पनि बेवास्ता गर्दा
- दाँत गुम्ने
- दीर्घ संक्रमण
- मुटु, मधुमेह जस्ता रोग बिग्रने
- उपचार खर्च अत्यधिक बढ्ने
उपचार गर्दै गर्दा ध्यान दिनुपर्ने कुरा
- नियमित फलोअप
- चिकित्सकले दिएको औषधि पूरा गर्ने
- सही ब्रसिङ टेक्निक अपनाउने
- धूम्रपान र सुर्तीजन्य पदार्थ त्याग्ने
दिनचर्यामा के गर्ने ? (डब्लुएचओ सिफारिस)
डब्लुएचओले मौखिक स्वास्थ्यका लागि सिफारिस गरेको दिनचर्याः
- बिहान र राति दाँत माझ्ने
- फ्लस प्रयोग गर्ने
- चिनी कम खाने
- धूम्रपान नगर्ने
- ६–१२ महिनामा दन्त परीक्षण
गिँजाको सूजनः मुटु रोगको लुकेको प्रारम्भिक संकेत
गिँजामा देखिने सूजन शरीरभित्र चलिरहेको दीर्घ सूजनको संकेत पनि हुनसक्छ । त्यसैले गिँजाको सानो समस्या पनि बेवास्ता गर्नु हुँदैन । एक दिनको कार्यक्रम होइन, वर्षभरको अभियान चाहिन्छ राष्ट्रिय गिँजा स्वास्थ्य दिवसको अवसरमा डा. प्रधानको जोड छ— ‘यो दिवस केवल औपचारिक कार्यक्रममै सीमित नहोस् । गिँजा स्वास्थ्यलाई वर्षभरि राष्ट्रिय अभियानका रूपमा लैजानु आवश्यक छ ।’ अतः गिँजाको समस्या दाँतसम्म सीमित छैन । यो सम्पूर्ण स्वास्थ्यसँग जोडिएको विषय हो । समयमै चेतना, सही बानी र उपचारले दाँत मात्र होइन, जीवन नै बचाउन सक्छ । गिँजाबाट बग्ने रगतलाई सानो नठानौँ—यो शरीरको ठूलो चेतावनी हुनसक्छ ।
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
