नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा स्वास्थ्य सेवाको गुणस्तर, सुरक्षा र वैज्ञानिक अभ्यास सुनिश्चित गर्ने उद्देश्यले स्थापना गरिएको नेपाल स्वास्थ्य व्यवसायी परिषद लामो समयदेखि प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको भन्दै विभिन्न स्वास्थ्यकर्मी संघ–संस्थाहरूले गम्भीर असन्तोष व्यक्त गरेका छन्। उनीहरूले समस्या समाधान नभए आन्दोलनमा उत्रिन सक्ने चेतावनीसमेत दिएका छन्।
स्वास्थ्य व्यवसायी परिषद ऐन, २०५३ जारी भएको करिब तीन दशक बितिसक्दा पनि ऐनको व्यवस्था अनुसार परिषद पूर्ण रूपमा गठन हुन नसकेको, आवश्यक पदाधिकारी नियुक्ति समयमै नभएको तथा सबै पेशागत समूहको प्रतिनिधित्व सुनिश्चित हुन नसकेको उनीहरूको भनाइ छ। परिषदमा सदस्य संख्या अपुग हुँदा दर्ता, नवीकरण, निरन्तर पेशागत विकास (सीपीडी), अनुशासनात्मक प्रक्रिया तथा नियमनसम्बन्धी नियमित कामहरू प्रभावित भएको उल्लेख गरिएको छ।
स्वास्थ्य व्यवसायी परिषदको कमजोर अवस्थाले स्वास्थ्यकर्मीहरूको पेशागत सुरक्षामात्र होइन, स्वास्थ्य सेवाको समग्र गुणस्तर र आम नागरिकको स्वास्थ्य अधिकारमा समेत नकारात्मक असर परेको संघ–संस्थाहरूको ठहर छ। परिषदमा दर्ता भएका ठूलो संख्याका स्वास्थ्यकर्मीहरूको प्रतिनिधित्व हुने संघ–संस्थालाई समावेश गर्न पटक–पटक आग्रह गर्दा पनि सरोकारवाला निकायबाट अपेक्षित ध्यान नदिइएको आरोप लगाइएको छ।
त्यसैगरी, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरूसँग सरकारले अघिल्लो समयमा गरेका सहमति कार्यान्वयनमा नआएकोप्रति पनि असन्तोष जनाइएको छ।
तलब, सेवा सुविधा, करार तथा स्थायी नियुक्ति, सुरक्षित कार्य वातावरण र पेशागत सम्मानजस्ता विषयमा सरकार उदासीन देखिएको उनीहरूको भनाइ छ।
स्वास्थ्यकर्मी संघ–संस्थाहरूले परिषद ऐन अनुसार पूर्ण परिषद गठन गर्न, ऐनअनुसार निर्वाचन र मनोनयन प्रक्रिया अघि बढाउन, सबै पेशागत संघ–संस्थाको समावेशी र न्यायोचित प्रतिनिधित्व सुनिश्चित गर्न तथा परिषदका गतिविधि पारदर्शी र नियमित बनाउन सरकारसँग माग गरेका छन्।
यसअघि बुझाइएका मागपत्र तथा ध्यानाकर्षणसम्बन्धी पहलहरू तत्काल कार्यान्वयन गर्नुपर्ने उनीहरूको जोड छ। मागहरूलाई बेवास्ता गरिए त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनीसमेत विज्ञप्तिमार्फत दिइएको छ।
विज्ञप्तिमा नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ, मेडिकल ल्याबोटरी एसोसिएसन, नेपाल सीएमए संघ तथा हेल्थ असिस्टेन्ट संघ नेपालका पदाधिकारीहरूको हस्ताक्षर रहेको छ।
बाँकेमा हात्तीपाइले विरुद्धको १० दिने औषधि सेवन अभियान सुरु
शुक्रबार, माघ ९, २०८२
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल
शुक्रबार, माघ ९, २०८२
सानोठिमी बाल सुधार गृहमा झडप, १३ घाइते
शुक्रबार, माघ ९, २०८२

