नेपाल हेल्थ न्युज, चितवन । सामान्यतया गर्मी मौसममा बढी चाप हुने भरतपुर अस्पतालमा यस वर्ष भने जाडो महिनामै बिरामीको संख्या हालसम्मकै उच्च विन्दुमा पुगेको छ। अस्पतालको तथ्याङ्कअनुसार पुस २८ गते एकै दिन ३ हजार १ सय १९ जनाले बहिरङ्ग सेवा लिएका छन्, जुन अस्पतालको इतिहासमै सबैभन्दा बढी हो।
स्वास्थ्य बीमा कार्यक्रमका इन्चार्ज लिलाधर पौडेलका अनुसार सो दिन सेवा लिनेहरूमध्ये २ हजार ४ सय ७७ जना स्वास्थ्य बीमाका बिरामी थिए भने ६ सय ४२ जनाले नगदमार्फत उपचार गराएका थिए। कुल बिरामीमध्ये करिब ७५ प्रतिशत बीमामा आबद्ध रहेको देखिन्छ।
अघिल्ला वर्षहरूसँग तुलना गर्दा पनि यो संख्या उल्लेखनीय रूपमा बढेको छ। विसं २०८१ पुस २८ मा २ हजार ४ सय ७० जनाले सेवा लिएका थिए भने २०८० सालमा यही अवधिमा २ हजार ३ सय ५७ जनाले मात्र उपचार गराएका थिए। यसअघि सबैभन्दा धेरै बिरामी २०८० असोज ४ गते आएका थिए, जुन दिन ३ हजार २ जनाले सेवा लिएका थिए।
पौडेलका अनुसार अचानक बिरामी बढ्नुका पछाडि विभिन्न कारण हुन सक्छन्। स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु परिवर्तनको सम्भावना, पुस महिनामा धेरैको बीमा अवधि सकिनु, काठमाडौंका केही अस्पतालमा बीमा सेवा रोकिनु तथा विद्यालय बिदाका कारण पनि बिरामीको चाप बढेको हुनसक्ने उहाँको अनुमान छ।
स्वास्थ्य बीमा सेवामा भरतपुर अस्पताल देशकै अग्रणी अस्पतालमध्ये पर्छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले बीमा तथा नगद दुवै प्रकारका बिरामीलाई व्यवस्थित सेवा दिन सकिएको कारण यहाँ बिरामीको आकर्षण बढेको बताउनुभयो। बीमा सेवा बन्द हुन सक्ने हल्लाले पनि बिरामी एकैचोटि बढेको हुनसक्ने उहाँको भनाइ छ।
अस्पतालका अनुसार भरतपुर अस्पतालमा वर्षेनी झण्डै ४ लाख ५० हजार पटक स्वास्थ्य बीमामार्फत सेवा लिइन्छ। त्यसवापत स्वास्थ्य बीमा बोर्डले अस्पताललाई भुक्तानी गर्नुपर्ने रकम ६० करोड रुपैयाँभन्दा बढी पुगेको छ।
बाँकेमा हात्तीपाइले विरुद्धको १० दिने औषधि सेवन अभियान सुरु
शुक्रबार, माघ ९, २०८२
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल
शुक्रबार, माघ ९, २०८२
सानोठिमी बाल सुधार गृहमा झडप, १३ घाइते
शुक्रबार, माघ ९, २०८२

