नेभिगेशन

सेजन सदस्यलाई ७ लाखको स्वास्थ्य तथा दुर्घटना बीमा सुविधा

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आफ्ना सदस्यहरूको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य तथा सामूहिक दुर्घटना बीमा व्यवस्था लागू गरेको छ।

यस योजना अन्तर्गत सेजनका प्रत्येक सदस्यले १ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा र अधिकतम ७ लाख रुपैयाँसम्मको सामूहिक दुर्घटना बीमाको सुविधा पाउनेछन्। बीमा कार्यक्रम हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनीमार्फत सञ्चालन गरिएको हो।

स्वास्थ्य तथा दुर्घटना बीमासम्बन्धी पोलिसी हिमालयन एभरेस्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठले सेजनका अध्यक्ष भागवत भट्टराईलाई औपचारिक रूपमा हस्तान्तरण गरेकी हुन्।

सो अवसरमा सीईओ श्रेष्ठले नेपालमा अझै पनि बीमाको महत्त्वबारे सर्वसाधारणमा पर्याप्त जानकारी नपुगेको उल्लेख गर्दै सबै नागरिकलाई बीमाको पहुँचमा ल्याउन सचेतना आवश्यक रहेको बताइन्।

उनले आर्थिक पत्रकारहरूको साझा संस्थाका रूपमा सेजनले बीमाको फाइदा र जोखिम न्यूनीकरणबारे जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राखिन्।

सेजन अध्यक्ष भट्टराईका अनुसार संस्थाले सदस्यहरूको हितलाई प्राथमिकतामा राख्दै करिब १५ करोड ९६ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा व्यवस्था गरेको हो। स्वास्थ्य बीमा अन्तर्गत सदस्य अस्पताल भर्ना भएलगत्तै बीमा सुविधा लागू हुनेछ।

बीमा योजनामा सामान्य शल्यक्रियाका लागि १५ हजार रुपैयाँ, आकस्मिक शल्यक्रियाका लागि ३० हजार रुपैयाँ र ठूला शल्यक्रियामा ४० हजार रुपैयाँसम्मको कभरेज उपलब्ध हुनेछ। यसका साथै अस्पताल बसाइँको बेड शुल्क, चिकित्सकको सेवा शुल्क तथा औषधोपचार खर्च पनि बीमा दायराभित्र समेटिएको छ।

सामूहिक दुर्घटना बीमा सुविधा

सामूहिक दुर्घटना बीमा अन्तर्गत दुर्घटनाका कारण शारीरिक क्षति भएमा सेजन सदस्यले अधिकतम ७ लाख रुपैयाँसम्मको बीमा दाबी गर्न सक्नेछन्। दुर्घटनापछि उपचारका लागि अस्पताल भर्ना हुनुपरेमा उपचार खर्चसमेत सोही सीमाभित्र उपलब्ध हुने व्यवस्था गरिएको सेजनले जनाएको छ।

हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनीले स्थापना कालदेखि नै सामान्य बीमा सेवामा विशेष जोड दिँदै आएको छ। ग्राहकको आवश्यकता अनुसार विविध बीमा सेवा प्रदान गर्दै आएको कम्पनी हाल देशभर रहेका ७७ शाखामार्फत सातै प्रदेशमा आफ्नो सेवा विस्तार गरिरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट