नेपाल हेल्थ न्युज, काठमाडौं — नियमित स्वास्थ्य परीक्षणका क्रममा मुटुको गम्भीर समस्या देखिएपछि बिराट नर्सिङ होम तथा बिराट मेडिकल कलेज टिचिङ हस्पिटलका अध्यक्ष एवं वरिष्ठ चिकित्सक प्रा.डा. ज्ञानेन्द्रमानसिंह कार्कीको भारतको नयाँ दिल्लीस्थित मेदान्ता अस्पतालमा सफल ट्रिपल बाइपास शल्यक्रिया (CABG) सम्पन्न भएको छ।
शल्यक्रियापछि बन्द भएका कोरोनरी धमनी खुल्दा स्वास्थ्यमा उल्लेखनीय सुधार आएको चिकित्सकहरूले बताएका छन्।
डा. कार्कीले उपचारपश्चात् सार्वजनिक गरेको भिडियो सन्देशपछि सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा विभिन्न अड्कल–टिप्पणीहरू आएका छन्। तीमध्ये केही सामग्रीमा उनले आफ्नै अस्पताल वा नेपालको स्वास्थ्य प्रणालीमा विश्वास नगरेको जस्तो अर्थ लाग्ने ढंगले प्रस्तुत गरिएको छ। तर उपलब्ध तथ्य र चिकित्सकीय परामर्शहरू हेर्दा ती व्याख्याहरू यथार्थसँग मेल नखाने देखिन्छन्।
किन भारतमा उपचार ?
हालै डा. कार्कीमा गम्भीर कोरोनरी धमनी अवरोध देखिएपछि कोरोनरी आर्टरी बाइपास ग्राफ्टिङ (CABG) शल्यक्रिया अपरिहार्य भएको थियो। यो जटिल शल्यक्रिया केवल अनुभवी मुटु शल्य चिकित्सक मात्र नभई अत्याधुनिक उपकरण, इन्सेन्सिभ केयर संरचना र बहुविशेषज्ञहरूको समन्वित टोली आवश्यक पर्ने उपचार हो। वरिष्ठ मुटु रोग विशेषज्ञहरूका अनुसार यस्तो संरचना नेपालका केही सीमित केन्द्रमा मात्र उपलब्ध छ, र डा। कार्की आबद्ध संस्थान—बिराट मेडिकल कलेज टिचिङ हस्पिटल तथा बिराट नर्सिङ होममा यो सेवा हाल उपलब्ध छैन।
नेपालका वरिष्ठ मुटु रोग विशेषज्ञहरू र विभिन्न उपचार केन्द्रहरूसँग गरिएको परामर्शपछि बिरामीको सुरक्षा र जोखिम मूल्यांकनलाई प्राथमिकतामा राख्दै भारतमा उपचार गराउनु उपयुक्त ठहरिएको हो। सोही सिफारिसअनुसार डा. कार्कीले नयाँ दिल्लीस्थित मेदान्ता अस्पतालमा पुगेर सफल ट्रिपल बाइपास शल्यक्रिया गराउनुभएको हो ।
‘विदेशमा उपचार . अविश्वास’ होइन
स्वास्थ्य क्षेत्रका विज्ञहरू भन्छन्, “विदेशमा उपचार गराउनु देशको स्वास्थ्य प्रणालीप्रति अविश्वास हुनु अनिवार्य होइन। उपलब्ध सेवा, बहुविशेषज्ञ संरचना र बिरामीको जोखिम मूल्यांकनका आधारमा लिइने चिकित्सकीय निर्णय हो।” नेपालमा चिकित्सकहरूको क्षमता र प्रतिबद्धतामा कमी नभए पनि केही अत्यन्त जटिल उपचारका लागि आवश्यक एकीकृत प्रणाली अझै विकासकै चरणमा रहेको उहाँहरूको भनाइ छ।
यस सन्दर्भमा डा. कार्कीले “आफ्नै अस्पताल” वा “आफ्नै देश” मा विश्वास नगरेको भन्ने आरोप तथ्यमा आधारित नभएको चिकित्सा क्षेत्रका धेरै व्यक्तिहरूले बताउनुभएको छ। बरु जीवनभर नेपालमै स्वास्थ्य सेवा निर्माणमा सक्रिय रहँदै आएका व्यक्तिको उपचार निर्णयलाई सन्दर्भविहीन रूपमा प्रस्तुत गरिएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ।
चार दशकको योगदान
डा. कार्की करिब चार दशकदेखि नेपाली स्वास्थ्य सेवामा सक्रिय चिकित्सकहुनुहुन्छ। विदेशमै काम गर्ने थुप्रै अवसर र आग्रह हुँदाहुँदै पनि उहाँले आफ्नो सम्पूर्ण व्यावसायिक जीवन नेपालकै स्वास्थ्य सेवाको विकास र विस्तारमा समर्पित गर्नुभयो। राजधानी बाहिर गुणस्तरीय स्वास्थ्य सेवा अभाव रहेको यथार्थलाई मध्यनजर गर्दै उहाँले बिराटनगरलाई कर्मथलो बनाएर पूर्वाञ्चल क्षेत्रमा चिकित्सा शिक्षण र उपचार सेवाको आधार निर्माणमा प्रमुख भूमिका खेल्नुभयो।
नेपालमा स्वास्थ्य सेवाको विकेन्द्रीकरण नीति बहसको विषय बन्नुअघि नै डा. कार्कीले यसको व्यवहारिक अभ्यास सुरु गरिसक्नुभएको थियो ।
करिब तीन दशकअघि नै मोफसलबाट गाइनोकोलोजिकल ल्याप्रोस्कोपिक शल्यक्रिया प्रारम्भ गरेका उहाँ नेपालकै पहिलो गाइने ल्याप्रोस्कोपिक सर्जन हुनुहुन्छ। यस पद्धतिमा उहाँले गरेको अनुसन्धान, नवप्रवर्तन र विकासको चर्चा अन्तर्राष्ट्रिय स्तरमै भएको छ। उहाँले कैयौँ नेपाली तथा विदेशी चिकित्सकहरूलाई ल्याप्रोस्कोपिक शल्यक्रियाको तालिमसमेत दिनुभएको छ ।
डा. कार्कीको उपचार निर्णयलाई व्यक्तिगत वा राष्ट्रिय स्वास्थ्य प्रणालीमाथिको अविश्वासका रूपमा चित्रण गर्नु तथ्यसंगत देखिँदैन। बरु उपलब्ध संरचना, जोखिम मूल्यांकन र चिकित्सकीय सल्लाहका आधारमा लिइएको बिरामी–केन्द्रित निर्णयका रूपमा बुझिनु उपयुक्त हुन्छ। शल्यक्रिया सफल भई स्वास्थ्यमा सुधार आएसँगै डा। कार्कीले पुनः नेपाली स्वास्थ्य सेवामा सक्रिय योगदान जारी राख्ने अपेक्षा गरिएको छ।
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
