नेपाल हेल्थ न्युज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा चिकित्सकहरूको टोलीले हालै एक महत्वपूर्ण सफलता हासिल गरेको छ । भक्तपुर निवासी ५४ वर्षीय पुरुषमा उहाँकै २२ वर्षीय छोराबाट कलेजोको अंश प्रत्यारोपण गरिएको थियो, जुन शल्यक्रिया सफल भएपछि बिरामीलाई उपचारपश्चात शनिबार अस्पतालबाट घर पठाइएको छ । शल्यक्रियापछि बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
कलेजो दान गरेका छोरालाई केही दिनअघि नै डिस्चार्ज गरिएको थियो भने अंग प्रत्यारोपण गरिएका बाबुको स्वास्थ्य पनि सन्तोषजनक रूपमा सुधार हुँदै गएपछि घर फर्काउन सकिएको हो ।
कलेजो प्रत्यारोपण शल्यक्रियाको नेतृत्व गरेका प्राध्यापक डा. रमेशसिंह भण्डारीका अनुसार योसँगै शिक्षण अस्पतालमा सम्पन्न कलेजो प्रत्यारोपणको संख्या २२ पुगेको छ ।
अस्पतालले अब कलेजो प्रत्यारोपणमा पूर्ण रूपमा स्वदेशी जनशक्तिमा निर्भर हुन थालेको दाबी गरेको छ । प्रारम्भिक वर्षहरूमा विदेशी विशेषज्ञको सहयोगमा सेवा सुरु गरिएको भए पनि नवौँ प्रत्यारोपणसम्म मात्रै अन्तर्राष्ट्रिय टोलीसँग सहकार्य भएको थियो । दशौँ प्रत्यारोपणदेखि भने नेपाली चिकित्सक, एनेस्थेसियोलोजिस्ट, नर्स तथा प्राविधिकहरूको टोलीले सम्पूर्ण प्रक्रिया आफैँ सफलतापूर्वक गर्दै आएको अस्पतालको भनाइ छ ।
डा. भण्डारीका अनुसार सन् २०२४ जनवरी १२ पछि शिक्षण अस्पतालकै टोलीले मात्र १३ वटा कलेजो प्रत्यारोपण सम्पन्न गरिसकेको छ। उहाँले यस उपलब्धिले नेपालमा जटिल अंग प्रत्यारोपण सेवाको क्षमता अन्तर्राष्ट्रिय स्तर नजिक पुगेको संकेत गरेको बताउनुभयो ।
नेपालमा कलेजो प्रत्यारोपण सेवा सुरु भएको करिब १० वर्ष भइसकेको छ । सुरुका दिनमा सीमित पूर्वाधार, दक्ष जनशक्ति अभाव र उच्च खर्चका कारण यो सेवा धेरै नेपालीका लागि सहज थिएन । त्यसबेला धेरै बिरामी उपचारका लागि विदेश जान बाध्य हुने गर्थे ।
तर पछिल्ला वर्षहरूमा शिक्षण अस्पतालको नेतृत्वमा स्वदेशमै कलेजो प्रत्यारोपण सेवा विस्तार हुँदै गएको छ । यसले उपचार खर्च घटाउनुका साथै बिरामी र परिवारलाई विदेश जानुपर्ने झन्झटबाट राहत दिएको छ । साथै, शल्यक्रियापछिको दीर्घकालीन निगरानी, औषधि व्यवस्थापन र सम्भावित जटिलता नियन्त्रण पनि सजिलो बनेको चिकित्सकहरू बताउँछन् ।
स्वास्थ्य क्षेत्रका जानकारहरूले यस उपलब्धिलाई नेपालको स्वास्थ्य प्रणालीका लागि महत्वपूर्ण मोडको रूपमा मूल्यांकन गरेका छन् । उनीहरूका अनुसार यस्ता जटिल शल्यक्रियामा आत्मनिर्भरता बढ्नुले अंग प्रत्यारोपण सेवालाई संस्थागत र दिगो बनाउने आधार तयार गरेको छ । यद्यपि, कलेजो प्रत्यारोपणलाई अझै सर्वसुलभ बनाउन सरकारी सहयोग, स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयन र दाता–ग्राही व्यवस्थापन प्रणाली सुदृढ गर्नुपर्ने आवश्यकता रहेको विज्ञहरूको सुझाव छ ।
देशभर रेबिजविरुद्धको खोप वितरण सुरु
बुधबार, साउन २०, २०८३
विश्वविद्यालय अनुदान आयोगको सदस्यसचिवमा प्रा.डा. रोजी श्रेष्ठ नियुक्त
बुधबार, साउन २०, २०८३
इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवनरक्षा गर्न चिकित्सक संघको माग
बुधबार, साउन २०, २०८३
७२ जिल्लामा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि, दुईको मृत्यु
बुधबार, साउन २०, २०८३
